काठमाडौं। इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा वेस्ट ह्याम युनाइटेडलाई ५–० गोलअन्तरले पराजित गर्दै लिभरपुलले यो वर्षको अन्त्य गरेको छ।
मोहम्मद सलाहको अर्को उत्कृष्ट प्रदर्शनले लिभरपुललाई लिगका १८ खेलमा १४ औं जित दिलाएको हो। योसँगै शीर्ष स्थानको लिभरपुलले ४५ अंक पुर्याएको छ, जुन दोस्रो स्थानको नटिङ्घम फोरेस्टको भन्दा आठ अंक बढी हो।
लन्डन रंगशालामा वेस्ट ह्यामविरुद्ध लिभरपुललाई सुरुआती अग्रता लिन आधा घण्टा लागेको थियो। लुइस डियाजले ३०औं मिनेटमा गोल गरे। त्यसको १० मिनेटपछि सलाहको पासमा कोडी गाक्पोले गोल गर्दै अग्रता दोब्बर बनाए।
पहिलो हाफको अन्त्यतिर सलाह आफैंले गोल गरे। सालाहले यस सिजन सबै प्रतियोगितामा २० गोल गरेका छन्। ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्डले ५४औं र डिओगो जोटाले ८४औं मिनेटमा गोल गर्दै लिभरपुलको फराकिलो जित सुनिश्चित गरे।