इलाइट कप खेल्न मधेशको बन्द प्रशिक्षणमा २२ खेलाडी

निजगढ। जय ट्रफी इलाइट कप क्रिकेट प्रतियोगिता खेल्ने मधेश प्रदेश क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २२ जना खेलाडी समावेश भएका छन्। मधेश प्रदेश क्रिकेट संघले शनिबार हरिशंकर साहको कप्तानीमा बन्द प्रशिक्षणमा परेका २२ जना खेलाडीको नाम सार्वजनिक गरेको हो ।
टोलीमा उपकप्तान अभिषेक तिवारीसहित अरनिको यादव, मयन यादव, विशाल सुश्लीङ, साहिल पटेल, रुपेश सिंह, राजेश यादव, भुलवन सहनी, बिशाल पटेल, हिमान्शु दत्त, प्रदीप पासवान, अफ्रुदीन राइन, रञ्जित कुमार, रोहन विश्वकर्मा, राहुल मण्डल, सैलेन्द्र साह, नीरजकुमार यादव, राज पटेल, सफवन अली, पार्थीव यादव र कमल गुप्ता समावेश भएका छन्।
सेतो जर्सी तथा रातो बलको प्रयोगमा खेलिने प्रतियोगिता पुस २१ गते देखि माघ ३ गतेसम्म विरगञ्जको नारायणी रंगशाला र जनकपुरमा हुनेछ । प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका शीर्ष चार टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेश खेल्ने छन्।
कुल चार टिमको सहभागिता रहने प्रतियोगिताको लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुनेछ । प्रतियोगिताको लिग चरणमा मधेशले पुस ५ गतेदेखि ६ गतेसम्म जनकपुरधाममा बागमती प्रदेश, पुस ८ गतेदेखि ९ गतेसम्म विरगञ्जमा नेपाल पुलिस क्लब र पुस ११ गतेदेखि १२ गतेसम्म विरगञ्जमा त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । लिग चरणको उत्कृष्ट २ टोलीले फाइनल खेल खेल्नेछ ।














