काठमाडौं। अस्ट्रेलियाका स्टार ब्याटर स्टिभ स्मिथले मेलबर्न क्रिकेट ग्राउन्ड (एमसिजी) मा जारी बक्सिङ डे टेस्टमा भारतविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका छन्।
खराब फर्मका कारण एक वर्षभन्दा बढी समयसम्म शतक बनाउनबाट बञ्चित भएपछि स्मिथले ब्रिसबेनमा भएको तेस्रो टेस्टमा शतक प्रहार गरेर केही राहत पाएका छन्।
महत्त्वपूर्ण एमसिजी टेस्टको क्रममा स्मिथले १९४ बलमा १३ चौका र ३ छक्काको मद्दतमा १४० रनको शानदार इनिङ्स खेल्दै आफ्नो लगातार बक्सिङ डे टेस्ट रेकर्डलाई निरन्तरता दिए र दोस्रो दिनको पहिलो सत्र ७१ भन्दा बढीको स्ट्राइक रेटका साथ शानदार तरिकाले समाप्त गरे।
स्मिथले भारतविरुद्ध ४३ इनिङ्समा ११ शतक बनाएका छन् भने इङ्ल्यान्डका जो रुटले भारतविरुद्ध ५५ इनिङ्समा १० शतक बनाएका छन्। भारतविरुद्धको २३ टेस्टमा उनले ६४.०२ को औसतमा दुई हजार ३०५ रन बनाएका छन्, जसमा ११ शतक र पाँच अर्धशतक समावेश छन्। उनको उत्कृष्ट स्कोर १९२ रन हो।
स्मिथ बोर्डर–गावस्कर ट्रफीमा विराट कोहली (नौ) र सचिन तेन्दुलकर (नौ) लाई पछि पार्दै १० शतक बनाउने पहिलो खेलाडी पनि बनेका छन्। एमसिजी र बक्सिङ डे टेस्टमा अहिलेसम्म स्मिथले १२ टेस्ट र १९ इनिङ्समा ८८.०० को औसतमा एक हजार २३२ रन बनाएका छन्, जसमा पाँच शतक र पाँच अर्धशतक समावेश छन्। उनको उत्कृष्ट स्कोर १९२ हो।