पोखरा। वुमन्स च्यालेन्जर टी–२० क्रिकेट प्रतियोगितामा टिम अकलाले लगातार दोस्रो जित निकाल्दा भद्रकालीले पहिलो जित हासिल गरेको छ। कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको च्यालेन्जर कप टी–२० क्रिकेटमा आ–आफ्नो खेलमा टिम अकला र टिम भद्रकालीले जित निकालेको हो।
१०९ रनको विजयी लक्ष्य पछ्याएको अकलाले १६.४ ओभरमा दुई विकेट गुमाउँदै विजयी हासिल गर्यो। अकलाकी कप्तान सिर्जना पौडेलले सर्वाधिक ४७ रनको योगदान दिइन्। उनले ४७ बलमा ८ चौका प्रहार गरिन्। सुस्मिता श्रेष्ठ १५ र विनीता सिग्देल दुई रनमा अविजित रहिन्। कृष्टिना अर्याल शून्यमा आउट भइन्। विन्ध्यवासिनीका लागि सोनिमा थापा र रोजी परियारले समान एक विकेट लिइन्।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विन्ध्यवासिनीले २० ओभरमा पाँच विकेट गुमाउँदै १०८ रन बनायो। विन्ध्यवासिनीका लागि चन्द्रमाया बराल २१ रनमा अविजित रहिन्। उनले ३२ बलमा २ चौका प्रहार गरिन्। कुसुम राई दुई रनमा अविजित रहिन्। एलिना श्रेष्ठ १६, सोनिमा थापा ६ र करिमा जयसवाल १६ रनमा आउट भइन्। रोजी परियार, मेघा खड्गी शून्यमै आउट भइन्। अकलाका लागि सुशीला डिमडोङले दुई विकेट लिइन्।
दोस्रो खेलमा भद्रकालीले आठ विकेटको जित हासिल गरेको छ। ५९ रनको विजयी लक्ष्य पाएको भद्रकालीले ८.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो। भद्रकालीका लागि सम्झना विक २५ रनमा आउट भइन। रेखा तामाङ पाँच रनमा आउट भइन्। रेजिना विक चार र पूर्णिमा गुरुङ शून्यमा आउट भइन्।
बाराहीका लागि रिया तामाङले दुई विकेट लिइन। टस जितेर ब्याटिङ थालेको बाराहीले १३.२ ओभरमा ५८ रन बनाउँदा अलआउट हुन पुग्यो। बाराहीका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। भद्रकालीका लागि पूर्णिमा गुरुङले चार ओभरमा १२ रन खर्चँदै सर्वाधिक पाँच विकेट लिइन्। रेखा तामाङ, रेजिना विकले समान दुई तथा मुस्कान जसवालले एक विकेट लिइन्। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता र पिएम कप क्रिकेटका लागि जिल्ला छनोटको रूपमा रहेको प्रतियोगिताबाट कास्की जिल्लाको टिम छनोट गरिनेछ।