काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाललाई पहिल्प सफलता मिलेको छ ।
दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा नेपालले दिएको ११४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको युएईले पहिलोओभरमा विकेट गुमाएको हो । नेपालका करण केसीले अस्फाक अहमदलाई ५ रनमा आउट गरे ।
युएईले ३ ओभरमा १ विकेट गुमाएर ६ रन जोडेको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३३ ओभर ५ बलमा अलआउट हुँदै ११३ रन बनाएको थियो ।
खराब ब्याटिङ प्रदर्शन गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन जोडे । यस्तै आरिफ शेखले २५ रन जोड्दा कप्तान पारस खड्काले २० रन बनाए । सन्दीप लामिछाने १५ रनमा आउट भए ।
त्यस्तै विनोद भण्डारीले ५, पवन सर्राफले ४, करण केसीले ३ रन जोडेर आउट भए । ललित नारायण राजवंशी २ रनमा अबिजेत रहे । नेपालका ओपनर ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र बसन्त रेग्मी खाता नखोली सुन्य रनमा आउट भए ।
नेपाललाई सस्तैमा समेट्न युएईका मोहमद नाभिद र अमीर हायतले ३/३ विकेट लिए । यस्तै इमरान हेदरले २ विकेट लिए ।
नेपालले युएईसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । नेपालले दोस्रो एकदिवसीय शनिबार खेल्नेछ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि नेपाल दोस्रो एकदिवसीय सिरिज खेल्न युएई पुगेको हो ।