काठमाडौं। जनकपुर बोल्ट्सका स्पिनर ललितनारायण राजवंशीले नेपाल प्रिमियर लिग (एनपिएल)मा बाइक पाएका छन्।
जनकपुरलाई उपाधि दिलाउन उनले १७ विकेट लिएका थिए। १० इनिङ्स बलिङ गरेका उनले ४० ओभरमा २१३ रन खर्चिँदै १७ विकेट लिएका हुन्।
उनी एनपिएलमा सर्वाधिक विकेट खेलाडी बने। उनीसँगै सुदूरपश्चिम रोयल्सका स्कट कुग्लिनले १७ विकेट लिए। तर, औसतमा ललित पछाडि रहे। कुग्लेनले नौ खेलमा १२.३५ को औसत र ललितले १० खेलमा १२.५२ को औसतमा विकेट लिएका हुन् ।
चितवन राइनोजका सोहेल तनवीर र जनकपुरका किशोर महतोले समान १४ विकेट लिए। यस्तै, कर्णाली याक्सका विपिन शर्मा र चितवनका रिजन ढकालको नाममा समान १३ तथा सुदूरपश्चिमका सैफ जैब, काठमाडौं गुर्खाजका करण केसी र जनकपुरमा मोहम्मद मोहसिनले समान १२ विकेट लिएका छन् ।
ललितकै उत्कृष्ट प्रर्दशनमा जनकपुरले पहिलो सिजनको एनपीएलको उपाधि जितेको छ। उनलाई अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक दिइएकाे हाे।