एसिया कपको फाइनल पुग्न बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं। नेपालले एसिसी महिला यु–१९ एसिया कपको फाइनल प्रवेश शुक्रबार बंगलादेशको सामना गर्नेछ। खेल मलेसियाको बायोमास ओभलमा बिहान ११:४५ बजे सुरु हुने छ।
सुपर फोरको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशविरुद्ध नेपालका लागि फाइनल यात्रा पक्का गर्ने निर्णायक अवसर हुनेछ। नेपालले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै इतिहास रच्ने लक्ष्य लिएको छ।
नेपालले समूह ‘बी’ को उपविजेता र बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा स्थान बनाएका थिए। समूह चरणमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले भारतसँग वर्षाका कारण अंक बाँडेको थियो। बंगलादेशले भने श्रीलंकालाई २८ रन र मलेसियालाई १२० रनको फराकिलो अन्तरले पराजित गर्दै समूह विजेताको उपाधि जितेको थियो।
सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द भएपछि नेपालले श्रीलंकासँग अंक बाँड्नुपरेको थियो। यता, बंगलादेशले भारतसँग ८ विकेटको पराजय बेहोर्यो।














