काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिग खेल्न १४ वटै क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहका अनुसार बिहीबार एन्फा र क्लबबीचको बैठक बसेको थियो। उक्त बैठकमा बाँकी रहेका नौ क्लबले पनि दर्ता गर्ने सहमति भएको उनले जानकारी दिए।
एन्फाले करिब तीन वर्षपछि ‘बी’ डिभिजन लिग माघ १३ गतेदेखि गर्ने घोषणा गरेको थियो। मिति घोषणा भएसँगै एन्फाले मंसिर २१ गतेसम्म क्लब दर्ता गर्न समय दिएको थियो।
क्लब दर्ता भएसँगै पुष १३ गते खेल तालिका प्रकाशन गर्ने जानकारी दिएको थियो। तर, एन्फाले तोकेको मितिमा झापा फुटबल क्लब, बाँसबारी क्लब, प्लानिङ बोइज युनाइटेड क्लब, श्री कुमारी र श्री भगवती क्लबले मात्रै टिम दर्ता गराए। त्यसपछि पुन: एन्फाले मंसिर २८ गतेसम्मको समय थप गरेको थियो। तर, यीबाहेकआरसिटी, बिग्रेड बोइज, मध्यपुर युथ एसोसिएसन, नयाँ बस्ती, सरस्वती युवा, वीरगञ्ज युनाइटेड, टुसाल र बोइज युनियनले आफ्नो टिम दर्ता गराएका थिएनन्। एन्फाले पुस ३ गतेसम्म पनि टिम दर्ता नगरे प्रतियोगिताको नियमावली अनुसार अघि बढ्ने जानकारी दिएको थियो।
त्यसको भोलिपल्ट एन्फा महासचिव किरण राईसँगै सचिवालय सदस्य क्लबको पदाधिकारीबीच बैठक बसेको हो। बैठकले लिगको नयाँ मितिसम्म तय गरेको शाहले जानकारी दिए। उनका अनुसार लिग फागुन २५ गतेदेखि सञ्चालन हुनेछ।