काठमाडौं। आर्सनल, न्युक्यासल युनाइटेड र लिभरपुलले बुधबार इङ्लिस लिग कपमा शानदार प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।
गेब्रियल जिससको उत्कृष्ट ह्याट्रिकको सहयोगमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३–२ ले पराजित गर्यो। यो जितले सन् २०२१–२२ सिजनपछि पहिलो पटक आर्सनललाई लिग कपको सेमिफाइनलमा पुर्याएको हो। खेलमा प्यालेसले चौथो मिनेटमै ज्याँ फिलिप माटेटाको गोलमार्फत अग्रता लिएको थियो। तर, जिससको उत्कृष्ट प्रदर्शनले खेल आर्सनलको पक्षमा मोडियो।
जिससले ५४औं र ८१औं मिनेटमा थप दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे। रिप्लेले उनको दोस्रो गोल अफसाइड रहेको देखाए पनि सेमिफाइनलसम्म भिडियो सहायताको व्यवस्था नभएकाले गोल कायम रह्यो।
लिभरपुलले साउथह्याम्पटनलाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो। पहिलो हाफमा डार्विन नुनेज र हार्वे इलियटले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। साउथह्याम्पटनले पछि राम्रो मौका बनाएको भए पनि पुनः गोल गर्न असमर्थ रह्यो।
ओप्टाका तथ्यांकअनुसार लिभरपुलले सन् १९९६ पछि पहिलो पटक सबै प्रतियोगितामा लगातार २० खेलमा अपराजित यात्रा कायम गरेको हो। न्युक्यासल युनाइटेडले ब्रेन्टफोर्डलाई ३–१ ले हराउँदै तीन सिजनमा दोस्रो पटक लिग कप सेमिफाइनलमा स्थान बनाएको छ। इटालियन मिडफिल्डर सान्ड्रो टोनालीले पहिलो हाफमा दुई गोल गरेका थिए।
न्युक्यासलले १९५५ यता कुनै ठूला प्रतियोगिताको उपाधि जित्न सकेको छैन। गत सिजन लिग कपको फाइनलमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएको थियो। क्वार्टरफाइनलको अर्को खेलमा बिहीबार टोटनह्यामले म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ। यससँगै यस संस्करणको सेमिफाइनलमा इङ्ल्यान्डका चार ठूला क्लबको प्रतिस्पर्धा हुनेछ।