काठमाडौं। म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक रुबेन अमोरिमले क्लबलाई मार्कस रासफोर्डजस्ता खेलाडीको खाँचो रहेको बताएका छन्।
शनिबार म्यानचेस्टर सिटीविरुद्ध २–१ को जित हासिल गरेको युनाइटेडले रासफोर्डलाई टोलीबाट हटाएको थियो। यस निर्णयपछि उनका भविष्यका बारेमा विभिन्न अड्कलबाजी सुरु भएका छन्।
मंगलबार एक साक्षात्कारमा रासफोर्डले नयाँ चुनौतीको सम्भावनालाई स्वीकार गर्दै भनेका थिए, ‘म व्यक्तिगत रूपमा नयाँ चरणका लागि तयार छु। उनका यी शब्दले क्लब छोड्ने सम्भावनालाई थप बलियो बनाएको छ।’
प्रशिक्षक अमोरिमले भने, ‘क्लबलाई सधैं ठूलो प्रतिभा चाहिन्छ र मार्कसजस्तो प्रतिभावान् खेलाडी महत्त्वपूर्ण हुन्छ। उनी उच्चस्तरमा प्रदर्शन गर्न सक्षम छन्। मेरो लक्ष्य भनेकै उनको विकासमा सहयोग गर्नु हो।’
२७ वर्षीय रासफोर्डले सन् २०२८ सम्म युनाइटेडसँगको सम्झौता गरेका छन्। तर, सन् २०२३ मा नयाँ सम्झौतामा हस्ताक्षर गरेयता उनले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा आलोचनाको सामना गरिरहेका छन्। गत सिजन उनले मात्र आठ गोल गरेका थिए र इङ्ल्यान्डको राष्ट्रिय टोलीमा आफ्नो स्थानसमेत गुमाए।
नोभेम्बरमा अमोरिम नियुक्त भएपछि रासफोर्डले युनाइटेडका लागि ६ खेलमा तीन गोल गरेका छन्। तर, पछिल्लो हप्ता भिक्टोरिया प्लाजेनविरुद्धको खेलमा उनी ५६ मिनेटपछि प्रतिस्थापित भए। यो घटनाले उनको भविष्यका विषयमा अझ चर्चा गराएको छ।
अब प्रशिक्षक अमोरिमको नेतृत्वमा रासफोर्डले आफ्नो प्रदर्शन सुधार गर्न सक्छन् वा क्लबको नयाँ रणनीतिले उनलाई प्रतिस्थापन गर्नेछ भन्ने हेर्न बाँकी छ।