काठमाडौं। दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङको बावजूद जनकपुर बोल्ट्सले नेपालको प्रिमियर लिग (एनपिएल) को फाइनल खेल पुग्न सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो। जनकपुरले सुरुआत राम्रो गर्न सकेन। तेस्रो ओभरको पाँचौं बलमा लाहिरु मिलान्था १२ रनमा एलबीडब्ल्यू आउट भए भने आसिफ ११ रनमै पेभिलियन फर्किए। यससँगै, जनकपुरले पावरप्लेदेखि नै दबाब महसुस गर्दै ३७ रन मात्र बनायो।
यसपछि पनि शुभ कांशकारले २६ रन, हर्ष ठाकरेले १२ रन, र अरनिको यादवले ११ रन बनाए। यद्यपि, टोलीले अपेक्षित गतिमा रन जोड्न सकेन।
अन्तिमतिर जिमी निसमको आक्रामक ब्याटिङले जनकपुरलाई सम्मानजनक स्कोरतर्फ डोर्यायो। उनले २३ बलमा तीन चौका र एक छक्कासहित ४५ रन बनाउँदै इनिङ्स सम्हाले। जिमी खेलको अन्तिमतिर बोल्ड आउट भए।
बलिङतर्फ, सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरीले सर्वश्रेष्ठ प्रदर्शन गरे। उनले चार ओभरमा २९ रन खर्चिएर तीन विकेट लिए। सैफ जेबले दुई विकेट लिए भने स्कट कुग्लेनले पनि एक विकेट लिएर महत्त्वपूर्ण योगदान दिए।