एजेन्सी । जापान युएईमा जारी एसियन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको क्वाटरफाइनलमा भियतनामलाई १ - ० गोल अन्तरले हराउँदै जापान अन्तिम चारमा पुगेको हो ।
दुबईमा भएको खेलमा जापानलाई जित दिलाउन रित्सु डोनले पेनाल्टीमा निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै जापानले अन्तिम चारको यात्रा तय गरेको हो ।
भियतनामका खेलाडीले रित्सुलाई पेनाल्टी क्षेत्रमा लडाएपछि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को सहायतामा जापानले पेनाल्टीको अवसर पाएको थियो । उक्त पेनाल्टी अवसरलाई रित्सुले सहजै गोल गरेका थिए ।
त्यसअघि २३ औ मिनेटमा माया योशिदाले गोल गरेपनि रेफ्रीले ह्यान्ड बल गरेको भन्दै उक्त गोललाई मान्यता दिएन । योशिदाले गरेको हेड गोल भिएआरमा ह्यान्ड बल देखिएको थियो ।
अब जापानले फाइनल प्रवेशको लागि चीन र इरानबीचको विजेतासंग खेल्ने छ ।