इलाम। समीर तामाङले निर्णायक गोल गर्दा चर्च बोइज इलाममा जारी दोस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। चर्चले बुधबार घरेलु टिम रेडहर्सलाई १–० ले हराएको हो।
दोस्रो हाफमा थपिएको समयमा तामाङले गरेको हेडर गोल नै चर्च बोइजलाई फाइनलमा पुग्न निर्णायक बन्यो। रेडहर्स लगातार दोस्रो पटक सेमिफाइनलबाट बाहिरिएको छ। यसअघि पहिलो संस्करणमा न्युरोड टिम (एनआरटी) सँग टाइब्रेकरमा पराजित भएको थियो। चर्चले फाइनल पुग्न त्रिभुवन आर्मीलाई क्वार्टरफाइनल र रेडहर्सलाई सेमिफाइनलमा हराएको हो।
रेडहर्सले संकटालाई क्वार्टरफाइनलमा टाइब्रेकरमा हराएको थियो।गोलकर्ता तामाङ खेलको म्यान अफ द म्याच घोषित भए। उनले आठ हजार एक सय प्राप्त गरे। चर्चले उपाधिको लागि डिफेन्डिङ च्याम्पियन एनआरटी र न्यु स्टार झापाबीचको विजेतासँग खेल्ने छ। दोस्रो सेमिफाइनलमा न्यु स्टार र एनआरटी भिड्दै छन्।