काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को लो स्कोरिङ खेलमा सुदूरपश्चिम रोयल्सले अपराजित रहेको जनकपुर बोल्ड्समाथि ७२ रनको फराकिलो जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले शीतले भिजेको पिच र आउटफिल्डमा राम्रो प्रदर्शन गर्न सकेको थिएन। त्यसैले सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२३ रन बनाएको थियो।
उक्त लक्ष्य जनकपुरले सहजै पूरा गर्ने देखिएको थियो। तर, जनकपुरले सुदूरपश्चिमका स्पिनरसामु खुलेर खेल्न सकेन र १२.१ ओभरमा सबै विकेट गुमाउँदै ५१ रनमै समेटियो। सुदूरपश्चिमलाई जित दिलाउन ब्याटिङमार्फत १७ र बलिङमार्फत दुई विकेट लिएका ईशान पाण्डेले पिचको कन्डिसन बुझेर खेल्दा जित निस्किएको बताए।
‘बिहान ब्याटिङ गर्न गाह्रो थियो। त्यसैले १५० भन्दा माथि बनाउने लक्ष्य थियो। तर, सकेनौं। लो स्कोर हुँदा बलिङबाटै रोक्ने लक्ष्य बनाएका थियौं। हामीले ब्याटिङ गर्दा पनि बल फसेर आइरहेको थियो। स्पिनर लगातार लगाउँदा पनि सफल भयौं,’ उनले भने।
सुदूरपश्चिमले १२ ओभरसम्म नै स्पिनर मात्रै प्रयोग गरेको थियो। त्यसमा उसलाई सफल पनि मिल्यो। यही खेलमार्फत डेब्यु गरेका हर्मीत सिंहले दुई विकेट लिए। कप्तान दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले पनि दुई विकेट नै लिए। सैफ जैब र नरेन साउदले पनि विकेट लिएपछि सुदूरपश्चिमले जनकपुरलाई एनपिएलकै सबैभन्दा कम स्कोरमा रोक्न सफल भयो। यसअघि पोखरा एभेन्जर्सले चितवन राइनोजविरुद्ध मात्रै ७४ रन बनाएको थियो।
ईशान भन्छन्, ‘योजना विकेट लिनै नै थियो। यहाँ खेलेकाबाहेक अन्यलाई यो कन्डिसनमा खेल्न गाह्रो थियो। त्यसैले हामीले लगातार राइट र लेफ्ट ह्यान्डविरुद्ध स्पिनर मात्रै प्रयोग गर्यौं।’
जितसँगै जनकपुरलाई उछिन्दै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। सुदूरपश्चिमले पाँच खेलबाट आठ अंक पुर्याएको छ। समान खेलबाट जनकपुरको पनि समान अंक रहे पनि नेट रनरेटमा सुदूरपश्चिम अगाडि छ। सुदूरपश्चिमले विराटनगर किङ्सलाई ९०, काठमाडौं गुर्खाजलाई ७३ र लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो। तर, चितवन राइनोजसँग भने ३३ रनले पराजित हुन पुग्यो।
जनकपुरले भने विराटनगर र कर्णाली याक्सलाई समान आठ विकेटले हराएको थियो। पोखरा एभेन्जर्स सात विकेट र लुम्बिनीमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको थियो। यो अंक तालिकाले ‘रिलिफ’ (ढुक्क हुने अवस्था) मिलेको ईशानको भनाइ छ। ‘जनकपुर हामीभन्दा अंक तालिकामा माथि नै थियो। त्यसैले यो टोलीलाई हरायौं भन डाउट क्लियर हुन्छ भन्ने थियो। हराउन सफल भयौं। खुसी छौं,’ उनले सुनाए।
सुदूरपश्चिमले अब पोखरा र कर्णालीसँग खेल्न बाँकी छ। एक जितले पनि सुदूरपश्चिमलाई प्लेअफमा पुर्याउने छ।