काठमाडौं। ब्याटिङमा चल्न नसकेपनि बलिङमा उत्कृष्ट पुनरागमन गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ड्सको अपराजित यात्रामा पूर्णविराम लगाएको छ। बुधबार भएको लो स्कोरिङ खेलमा सुदूरपश्चिमले आफ्नो योगफल जोगाउँदै ७२ रनको जित निकालेको हो।
जितसँगै जनकपुरलाई उछिन्दै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। सुदूरपश्चिमले पाँच खेलबाट आठ अंक पुर्याएको छ। समान खेलबाट जनकपुरको पनि समान अंक रहेपनि नेट रनरेटमा सुदूरपश्चिम अगाडि छ। सुदूरपश्चिमले विराटनगर किङ्सलाई ९०, काठमाडौं गुर्खाजलाई ७३ र लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो। तर, चितवन राइनोजसँग भने ३३ रनले पराजित हुन पुग्यो।
जनकपुरले भने विराटनगर र कर्णाली याक्सलाई समान आठ विकेटले हराएको थियो। पोखरा एभेन्जर्स सात विकेट र लुम्बिनीमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको थियो। सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा सबै विकेट गुमाउँदै ५१ रनमै समेटियो। यो एनपिएलमा कुनै पनि टोलीले बनाएको सबैभन्दा कम रन हो। यसअघि पोखराले चितवनविरुद्ध मात्रै ७४ रन बनाएको थियो।
जनकपुरका जोशुआ ट्रम्पबाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। १३ बल खेलेका उनले एक चौका र एक छक्कासहित १३ रन प्रहार गरे।
सुदूरपश्चिमका हर्मीत सिंह, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान दुई विकेट लिए। सैफ जैब र नरेन साउदको नाममा एक/एक विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १२३ रन बनाएको थियो।
पहिलो पावर प्लेसम्म कुनै विकेट नगुमाई ४२ रन बनाएको सुदूरपश्चिमले सातौं ओभरको चौथो बलदेखि ब्याटिङमा संघर्ष गर्न थालेको हो। सुदूरपश्चिमले ओपनरद्वय साद बिन जाफरलाई २१ र विनोद भण्डारीलाई ३३ रनमा गुमाएको थियो। उनीहरूबीच पहिलो विकेटका लागि ५५ रनको साझेदारी भयो।
त्यसपछि कुनै पनि ब्याटरले यति ठूलो साझेदारी गर्न सकेनन्। डेब्यु खेल खेलेका हर्मीत सिंह एक, ब्रान्डन म्याकमुलन ११, कप्तान दीपेन्द्रसिंह ऐरी शून्य, इशान पाण्डे १७, आसिफ शेख ६, स्कट कुग्गेलिजन सात र नरेन साउदले तीन रन बनाए।
नरेश बूढाऐर नौ र अविनाश बोहरा दुई रनमा अविजित रहे। सुदूरपश्चिमका लागि किशोर महतो सबैभन्दा घातक रहे। चार ओभर बलिङ गरेका उनले चार विकेट लिन २८ रन खर्चिए। जारी एनपिएलमा उनको यो अहिलेसम्मकै उत्कृष्ट बलिङ फिगर हो।
यसअघि उनले विराटनगर किङ्सविरुद्ध १८ रन खर्चिँदै दुई विकेट लिएका थिए। यस्तै, शेर मल्ल र अरनिको यादवले समान दुई विकेट लिए। एक विकेट भने क्यानेडाली बलर हर्ष ठाकरको नाममा रह्यो।