काठमाडौं। एन्फा महिला सुपर लिग पुस १८ गतेदखि हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार लिगका शीर्ष पाँच क्लबसँग एन्फा कम्प्लेक्स सातदोबाटोमा छलफल गर्दै मिति तय गरेको हो।
एन्फाका अनुसार लिग पुस १८ देखि माघ १६ गतेसम्म काठमाडौंमा हुनेछ। सुपर लिगसँगै एलिमिनेट, क्वालिफायर र फाइनल चरणका खेल एन्फाले जनाएको छ।
गत भाद्र र असोजमा एन्फा कम्प्लेक्समा राउन्ड रोबिनको आधारमा सञ्चालित पहिलो चरणमा विभागीय तीन टिमसहित १० टिमले प्रतिस्पर्धा गरेका थिए, जसमा एपिएफ (२५ अंक) पहिलो, आर्मी (२२) दोस्रो, पुलिस (२१) तेस्रो, वालिङ नगपालिका (१५) चौथो र कोशी प्रदेश (१४) पाँचौं स्थानमा रहेका थिए। बागमती (१०) छैटौं, संकटा (८) सातौं, चन्द्रपुर नगरपालिका (८) आठौं, कर्णाली प्रदेश (४) नवौं र सबै खेल हारेको सुदूरपश्चिम अन्तिम तथा १०औं स्थानमा रहेका थिए।