काठमाडौं । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा ब्याट्सम्यानले प्रहार गरेको छक्का क्याच गर्ने दर्शकले दश हजार नगद पुरस्कार पाउने भएको छ ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहिबार छक्का क्याच गर्ने दर्शकले दश हजार नगद पुरस्कार पाउने जनाएको हो । एकेडमीले उक्त रकम अजोड इन्सुरेन्स लिमिटेडबाट पाउने जनाएको छ ।
आगामी माघ २६ गतेबाट धनगढीमा हुने प्रतियोगिताका लागि एकेडमीले अजोडसंग अफिसियल इन्सुरेन्स पार्टनरको रुपमा सम्झौता समेत गरेको छ । सम्झौतामा डिसिएका अध्यक्ष सुवाश शाही र अजोडका प्रमुख कार्यकारी अधिकृतले कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार अजोडले प्रतियोगिताका खेलाडी, दर्शक तथा अफिसियलहरुको बिमा गर्नेछ । यस्तै प्रतियोगिताका प्रत्येक खेलमा पहिलो छक्का क्याच गर्ने दर्शकले १० हजार पाउँनेछन् । क्याच एक–दुई हात दुबैको मान्य हुने आयोजक डिसिएका अध्यक्ष सुवास शाहीले बताए ।
यस संस्करणको डीपीएल आगामी माघ २६ गतेबाट धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुदैछ । देशकै सर्वाधिक पुरस्कार राशीको डीपीएलमा धनगढी स्टार्स, सीवाईसी अत्तरीया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन र बिराटनगर किंग्सले प्रतिस्पर्धा गर्ने छन् ।
टी-ट्वान्टी आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टिमले एक अर्को टोली प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोली प्ले अफमा छनोट हुनेछ । पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।
प्रतियोगिताका लागि ६ वटै टोलीले अक्सनबाट खेलाडी लिइसकेका छन् । डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनैतिक खेलाडी र दुई विदेशी गरि १५—१५ खेलाडी टोलीसँग आवद्ध गरेका छन् ।