काठमाडौं। कोपा लिबर्टाडोरेस च्याम्पियन बोटाफोगोले साओ पाउलोलाई सोमबार २–१ ले पराजित गर्दै सन् १९९५ पछि पहिलो पटक ब्राजिलियन लिगको उपाधि जितेको छ।
अमेरिकी व्यवसायी जोन टेक्स्टरसँग स्वामित्व रहेको बोटाफोगोले ३८ खेलबाट ७९ अंक जोड्दै तेस्रो पटक ब्राजिलियन लिग उपाधि जित्न सफल भएको हो। उपविजेता पाल्मेरासभन्दा बोटाफोगो ६ अंकले अघि छ।
निल्टन सान्तोस स्टेडियममा भएको खेलमा बोटाफोगोका जेफरसन साभारिनोले सुरुआती गोल गरे। तर, ६३औं मिनेटमा साओ पाउलोकातर्फबाट विलियम गोम्सले बराबरी गोल गरे। खेलको इन्जुरी समयमा ग्रेगोरेले निर्णायक गोल गर्दै बोटाफोगोलाई जित दिलाए।
गत नोभेम्बर ३० मा भएको कोपा लिबर्टाडोरेसको फाइनलमा बोटाफोगोले एट्लेटिको मिनेइरोलाई ३–१ ले पराजित गर्दै पहिलो पटक दक्षिण अमेरिकी उपाधि उचालेको थियो। यो जितसँगै बोटाफोगोले अर्को वर्ष अमेरिकामा हुने क्लब विश्वकपमा स्थान पक्का गरेको छ।
बोटाफोगोको प्रमुख प्रतिद्वन्द्वी पाल्मेरास भने आफ्नो खेलमा फ्लुमिनेन्ससँग १–० ले पराजित भयो। फ्लुमिनेन्सले यस जितसँगै रेलिगेसनबाट बच्न सफल भयो भने एथलेटिको पारानेन्स दोस्रो डिभिजनमा झर्यो। खेलमा फ्लुमिनेन्सका केभिन सेर्नाले ३७औं मिनेटमा गोल गरेका थिए।
जोन टेक्स्टरले पत्रकारहरूसँग कुरा गर्दै आफूले तीन वर्षमै बोटाफोगोले यस्तो ठूलो सफलता हासिल गर्ने अपेक्षा नगरेको बताए। उनले भने,‘मैले यो सफलताको कल्पना गरेको थिइनँ। यो हाम्रो अपेक्षाभन्दा छिटो भयो, जसले हामीलाई निकै उत्साहित बनाएको छ।’
बोटाफोगोले कोपा लिबर्टाडोरेस जित्नुअघि टेक्स्टर आर्थिक संकट र खराब प्रदर्शनका कारण समर्थकहरूको आलोचनामा परेको थियो। टेक्स्टरको ‘ईगल फुटबल’ले प्रिमियर लिगको क्रिस्टल प्यालेस, फ्रान्सको लियोन र बेल्जियमको आरडब्ल्यूडी मोलेनबीकको पनि स्वामित्व राखेको छ।
सन् २०२० मा रेलिगेसनमा परेको बोटाफोगोमा टेक्स्टरको लगानीपछि पुनः चर्चामा आएको थियो। सन् २०२१ मा ब्राजिलमा कानूनी परिवर्तन भएपछि विदेशी लगानीकर्ताहरूले क्लबहरूमा लगानी गर्न पाउने बाटो खुलेको थियो।
टेक्स्टरले बोटाफोगोका लागि स्टार खेलाडीहरू अर्जेन्टिनाका थियागो अल्माडा (२५ मिलियन डलर) र विंगर लुइज हेनरिक (२१ मिलियन डलर) मा भित्र्याउन ठूलो खर्च गरेका छन्। क्लबका पोर्चुगिज प्रशिक्षक आर्थर जर्ज गत अप्रिलमा टिममा समावेश भएका थिए।