काठमाडौं। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले युभेन्टसविरुद्धको च्याम्पियन्स लिग खेलको तयारीका लागि थप एक दिन समय पाएकोमा खुसी व्यक्त गरेका छन्। शनिबारको क्रिस्टल प्यालेसविरुद्धको खेलपछि उनले आफ्ना खेलाडीलाई रिकभर गर्न समय दिने बताएका छन्।
सेलहर्स्ट पार्कमा भएको खेलमा सिटी २–२ को बराबरीमा रोकिएको थियो। यो खेलमा ग्वार्डिओलाको टोलीले चोट र बिरामीका कारण महत्त्वपूर्ण खेलाडीहरू रोड्री, माटेओ कोभासिच, जोन स्टोन्स, र फिल फोडेनलाई गुमाएको थियो।
गत साता नटिङ्घम फरेस्टविरुद्ध ३–० को जित हासिल गर्दा घाइते भएका म्यानुअल एन्कान्जी र नाथन एके पनि अनुपस्थितिको सूचीमा थपिएका थिए।
ग्वार्डिओलाले भने, ‘मेरा साथीहरूले (युभेन्टस) अध्ययन गर्न थालेका छन्। भाग्यवश हामी मंगलबार होइन, बुधबार खेल्दैछौं। यसले यी खेलाडीहरूलाई रिकभर गराउन थप एक दिनको समय दिएको छ। हामीसँग अहिले कुनै नयाँ खेलाडी उपलब्ध छैन।’
ग्वार्डिओलाले मेडिकल स्टाफको प्रयासको सराहना गर्दै खेलाडीहरूको रिकभरीका लागि निकै मेहनत गरिरहेको बताएका छन्। तर, चोट फुटबलको अभिन्न अंग रहेको उनी बताउँछन्।
उनले थपे, ‘पछुतो गर्नुभन्दा पनि यो चुनौतीलाई स्वीकार गर्नुपर्छ। अन्त्यमा यदि हामीले उपाधि जित्छौं भने अन्य सिजनको तुलनामा यो सफलता हाम्रो लागि अझै सन्तोषजनक हुनेछ।’
च्याम्पियन्स लिगका पछिल्ला दुई खेलमा सिटीले स्पोर्टिङसँग ४–१ को हार बेहोरेको थियो भने फेयनोर्डसँग ३–३ को बराबरी खेलेको थियो।