काठमाडौं। ब्राजिलमा पछिल्लो समय सबैभन्दा चर्चित फुटबलर बनेका ३० वर्षीय स्ट्राइकर मेम्फिस डेपे रियो डी जेनेरियोका बलौटे समुद्र तटमा वा साओ पाउलो वरपरका माटोका मैदानमा खाली खुट्टा फुटबल खेलेर हुर्किएका होइनन्। बरु उनी त चिसो र हरियालीले भरिएको डच गाउँ मोर्ड्रेक्टमा हुर्किएका हुन्। तर, पछिल्लो समय उनले ब्राजिलमा जुन अमिट छाप छाडेका छन्, त्यसले लाग्दैन कि उनी डच खेलाडी हुन्।
डेपेको ब्राजिल आगमनले धेरैलाई आश्चर्यचकित बनाएको थियो। क्याटलान बार्सिलोना र एट्लेटिको मड्रिडमा अपेक्षाकृत कमजोर प्रदर्शनपछि उनले गत सेप्टेम्बरमा युरोप छोडेर दक्षिण अमेरिका जाने घोषणा गरे। यो निर्णय त्यतिबेला भयो, जब उनलाई अझै पनि च्याम्पियन्स लिग खेल्ने अन्य ठूला क्लबहरूले अफर गरिरहेका थिए।
तर किन ब्राजिल? त्यो पनि यस्तो देश जहाँ फुटबलरको तलब युरोपका मध्यमस्तरका क्लबहरूसँग पनि दाँज्न सकिने अवस्था छैन। त्यो पनि एउटा यस्तो क्लबमा कोरिन्थियन्स, जो ऋणले ग्रस्त छ। रेलिगेसनको जोखिममा छ र राजनीतिक संकटको सामना गरिरहेको छ।
डेपेले आफ्नो पहिलो पत्रकार सम्मेलनमा भनेका थिए, ‘मसँग सबै प्रश्नहरूको उत्तर छैन। तर, यहाँको ऊर्जा र चुनौतीले मलाई तान्यो।’ पाँच वर्षदेखि ट्रफी जित्न नसकेको भए पनि लामो इतिहास र गौरवशाली कोरिन्थियन्स क्लबमा उनी सामेल भए।
डेपेको नेतृत्वमा कोरिन्थियन्सले आफूलाई फेरि उभ्यायो। टोलीले ब्राजिलियन लिगमा लगातार नौ जित निकाल्यो। रेलिगेसनबाट मात्र जोगिएन बरु अर्को वर्षको कोपा लिबर्टाडोरेसका लागि छनोट हुन सफल भयो। डेपेको व्यक्तिगत योगदान पनि उत्कृष्ट रह्यो। १४ खेलमा उनले सात गोल गरे, जसमा एक अविस्मरणीय ‘बाइसाइकल किक’ गोल पनि समावेश छ।
डेपेको आगमनले क्लबको मात्र होइन समर्थकहरूको पनि ध्यान खिच्यो। मैदानबाहिर उनले स्थानीय समुदायसँग घुलमिल भए। साओ पाउलोका फावेलामा भ्रमण गर्दै स्थानीय संगीत कार्यक्रममा भाग लिएर र नेयमारलाई ब्राजिल फर्किन प्रेरित गर्दै उनले आफ्नो सामाजिक प्रभाव पनि देखाए।
‘मेम्फिसले क्लबलाई नयाँ ऊर्जा र अन्तर्राष्ट्रिय प्रसिद्धि दिएको छ। उनले अनुभव र गोल मात्र होइन, आफ्नो ठूलो व्यक्तित्व पनि ल्याएका छन्,’ कोरिन्थियन फुटबल कार्यकारी फाबिन्हो सोल्डाडोले भने।
डेपेले स्थानीय समर्थकहरूसँग विशेष सम्बन्ध बनाएका छन्। खेलेपछि उनीहरूसँग मिलेर उत्सव मनाउने देखि केही पुर्तगाली भाषा सिक्नेसम्म उनी गर्छन्। लाग्छ उनले ब्राजिलको फुटबल संस्कृतिलाई आत्मसात् गरेका छन्।
स्पेनमा स्पेल खेल्नुअघि पीएसभी आइन्डहोभेन, म्यानचेस्टर युनाइटेड र लियोनबाट खेलेका डेपेले फ्यानबेससँग यस्तो सम्बन्ध आफूले कहिल्यै महसुस नगरेको बताए। ‘ब्राजिलको फुटबल मात्र होइन, यहाँको ऊर्जा नै विशेष छ। यो मेरो यात्रा र फुटबल जीवनको नयाँ अध्याय हो,’ उनले भने।
यद्यपि, डेपेको राष्ट्रिय टोलीमा फर्किने या नफर्किने भन्ने विषय अझै अनिश्चित छ। नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्ड कोम्यानले उनलाई दक्षिण अमेरिकाबाट बोलाउने निर्णय गर्न समय लाग्न सक्छ।
तर, उनी यसमा त्यति चासो राख्दैनन्। भन्छन् , ‘यदि राष्ट्रिय टोलीलाई मेरो आवश्यकता पर्यो भने मलाई प्रशिक्षक नै भेट्न आउन सक्छन्।’ कोरिन्थियन्सका समर्थकहरू डेपेको प्रभावले युरोपका अन्य खेलाडीहरूलाई पनि दक्षिण अमेरिका आउन प्रेरित गर्नेमा आशावादी देखिन्छन्।