काठमाडौं। नेपालले सन् २०२७ मा साउदी अरबमा हुने एएफसी एसियन कप तेस्रो चरणको छनोटमा भियतनाम र मलेसियाजस्ता कठिन प्रतिद्वन्दी पाएका छन्।
मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा सोमबार भएको ‘ड्र’ मा नेपालसँगै भियतनाम, मलेसिया र लाओस समूह ‘एफ’ मा परेका हुन्।
२४ टिमलाई चार–चार समूहमा विभाजन गर्दै नेपाललाई पोट ३ मा राखिएको थियो। जसअनुसार नेपालले पोट १ बाट भियतनाम, पोट २ बाट मलेसिया र पोट ४ बाट लाओस प्रतिद्वन्दी पाएको हो।
एएफसीका अनुसार २५ मार्चबाट सुरु हुने प्रतियोगिता राउन्ड रोबिन फर्म्याटमा होम एन्ड अवेमा हुनेछ। प्रत्येक समूहको विजेताले सन् २०२७ मा साउदीमा आयोजना हुने एएफसी एसियन कपका लागि छनोट हुनेछ ।
नेपालले मार्च २४ मा मलेसियासँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। फिफा वरीयतामा १३२औं स्थानमा रहेको मलेसियाले चारपल्ट एसिया कप खेलिसकेको छ। तर, सन् १९७६,१९८०, २००७ र २०२३ मा खेलेको मलेसिया समूहचरणबाट अगाडि बढ्न सकेको छैन।
यता, भियतनाम फिफा वरीयतामा ११६औं स्थानमा छ। यो टोलीले पाँचपल्ट एसियन कप खेलिसकेको छ। सन् १९५६ र १९६० मा यो टोली लगातार दुईपल्ट चौथो हुन सफल भएको थियो। सन् २००७ र १९ मा क्वार्टरफाइनलसम्म पुगेको यो टोली गत वर्ष भने समूहचरणबाट बाहिरिएको थियो।