काठमाडौं। आर्सनलले आफ्नो ‘सेट पिस स्पेसलिस्ट’को छवि फेरि एकपटक बलियो बनाएको छ।
बुधबार म्यानचेस्टर युनाइटेडमाथि २–० को जित निकाल्दा आर्सनलले ‘सेट पिस’को प्रभावशाली प्रदर्शन देखाएको थियो। उक्त खेलमा विलियम सालिबाले गोल गरेका थिए। उनले नै फुलह्यामविरुद्ध त्यसरी नै गोल गर्दै आर्सनललाई हारबाट जोगाए।
फुलह्यामविरुद्धको खेल १–१ को बराबरीमा टुंगिएको थियो। तर, आर्सनलले ‘सेट पिस’मा गरेको योगदान भने विशेष छ। बिबिसीका अनुसार सन् २०२३–२४ को सिजनको सुरुदेखि अहिलेसम्म आर्सनलले कर्नरबाट २३ गोल गरिसकेको छ, जुन युरोपका शीर्ष पाँच लिगको कुनै पनि टोलीभन्दा बढी हो।
म्यानचेस्टर युनाइटेडसँगको खेलपछि पूर्वयुनाइटेड र टोटनह्यामका स्ट्राइकर डिमितार बर्बाटोभले आर्सनललाई मजाक गर्दै ‘नयाँ स्टोक सिटी’को संज्ञा दिएका छन्। टोनी पुलिसको प्रशिक्षणमा स्टोक सिटी ‘सेट पिस’मार्फत प्रिमियर लिगमा खतरनाक टोलीको रूपमा चिनिन्थ्यो।
आर्सनलले यो सफलता ‘सेट पिस’ विशेषज्ञ प्रशिक्षक निकोलस जोभरको मार्गदर्शनमा प्राप्त गरेको हो। जर्मनीमा जन्मेका फ्रान्सेली प्रशिक्षक जोभरले यसअघि म्यानचेस्टर सिटीमा पनि मिकेल अर्टेटासँगै काम गरेका थिए। जोभरको प्रशिक्षणले आर्सनललाई ‘सेट पिस’मा अन्य क्लबभन्दा निकै माथि उभ्याएको छ।