एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलको २३ औ चरणको खेलहरु सकिएको छ । लिगको २३ औ चरणको खेलहरु सकिदा लिभरपुल लिगको शीर्ष स्थानमा रहेको छ ।
लिगमा लिभरपुलले ६० अंक जोडेको छ । लिभरपुललाई म्यानचेस्टर सिटीले ५६ अंक जोडेर पछ्याईरहेको छ । यस्तै टोटेनहम तेस्रो, चेल्सी चौथो र आर्सनल पाँचौ स्थानमा रहेको छ ।
यस सिजन प्रिमियर लिगमा लिभरपुलका फरवार्ड मोहमद सलाह सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका छन् । यस्तै चेल्सीका हजार्ड सर्वाधिक पास उपलब्ध गराउने खेलाडीमा अग्र स्थानमा रहेका छन् ।
प्रिमियर लिगको २३ औ चरणको खेल सकिदाको तथ्याक कस्तो रहेको छ त ? तथ्यांकमा हेर्नुहोस् प्रिमियर लिग ।
गोलकर्ता : यस सिजन प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अघिल्लो वर्षका उच्च गोलकर्ता मोहमद सलाह नै अग्रपंतिमा रहेका छन् । सलाहले लिभरपुलका लागि १६ गोल गरिसकेका छन् । आर्सनलका फरवार्ड पेरिक एम्रिक आउबामियाङ्ग र टोटेनहमका फरवार्ड ह्यारी केन १४/१४ गोल गर्दै संयुक्त रुपमा दोस्रो स्थानमा रहेका छन्। म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्युरो र विंगर रहिम स्टर्लिङ तथा चेल्सीका मिडफिल्डर ईडेन हजार्ड १०/१० गोल गर्दै तेस्रो स्थानमा रहेका छन् ।
असिस्ट : सर्वाधिक गोलकर्तामा तेस्रो स्थानमा रहेका चेल्सीका मिडफिल्डर ईडेन हजार्ड गोलका लागी पास उपलब्ध गराउने खेलाडीको सूचीमा अग्रस्थानमा रहेका छन् । उनले १० गोलका लागि पास उपलब्ध गराएका छन् । बाउर्नमाउथका विंगर रायन फेजर र म्यानचेस्टर सिटीका विंगर लोरी सानेले ९/९ गोलका लागि पास उपलब्ध गराउदै दोस्रो स्थानमा रहेका छन् । तेस्रो स्थानमा रहेका टोटेहमका मिडफिल्डर क्रिस्टियन एरिक्सनले ८ गोलका लागि पास उपलब्ध गराएका छन् ।
पास : यसै सिजन नेपोलीबाट चेल्सी आएका मिडफिल्डर जर्जिन्होले जारी प्रिमियर लिगमा सर्वाधिक पास उपलब्ध गराएका छन् । उनले २ हजार ७७ पास खेलेका छन् । दोस्रो स्थानमा रहेका म्यानचेस्टर सिटीका रक्षक लापोर्तेले १ हजार ९ सय ६० पास खेलेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका चेल्सीकै रक्षक एन्टोनियो रुडिगरले १ हजार ८ सय ७३ पास खेलेका छन् ।
क्लिन सिट : जारी सिजनमा अंक तालिकाको अग्रस्थानमा रहेको लिभरपुलका गोलरक्षक एलिसन बेकरनै सर्वाधिक खेलमा गोल नखाने किपरको सूचीमा पहिलो स्थानमा रहेका छन् । उनले १३ खेलमा गोल खाएका छैनन् ।
दोस्रो स्थानमा रहेका चेल्सीका किपा अरिजाबलागा र म्यानचेस्टर सिटीका एडरसनले समान १०-१० खेलमा कुनै गोल खाएका छैनन् । टोटनह्यामका हुगो लोरिस ८ खेलमा कुनै गोल नखादै सूचीको तेस्रो स्थानमा रहेका छन् ।
-एजेन्सीको सहयोगमा