एजेन्सी । भारतीय कप्तान विराट कोहलीले न्युजिल्याण्डविरुद्वको जारी वान डे सिरिज नखेल्ने भएका छन् । पाँच म्याचको सिरिजमा विराटले चौथो र पाँचौ वान डे नखेल्ने भएका हुन् ।
वान डेसंगै उनले फेब्रुअरी ६ बाट सुरु हुने तीन म्याचको ट्वान्टी २० सिरिज समेत नखेल्ने भएका छन् ।
विराटको अनुपस्थितीमा भारतीय टिमको नेतृत्व रोहित शर्माले गर्नेछन् । रोहितको नेतृत्वमा सन् २०१७ देखि २०१८ सम्म खेलिएका ८ वान डे म्याचमा भारतले ७ खेलमा जित हात पारेको छ ।
पछिल्लो समय ढाड र गर्दन दुख्ने समस्याबाट पिरोलिएका कोहलीलाई टिम व्यवस्थापनले आराम दिने निर्णय गरेको हो ।
भारतीय टिम आसन्न विश्वकप अगाडी कुनै जोखिम लिन चाहिरहेको छैन । ३० बर्षिया विस्फोटक ब्याट्सम्यान आफुलाई समेत फिट राख्न निकै मेहनत गरिरहेका छन् ।
न्युजिल्याण्ड सिरिज लगत्तै भारतले घरेलु मैदानमा अष्ट्रेलियासंग खेल्नेछ ।
छनोट समिति र टिम व्यवस्थापनले पछिल्लो महिनामा विराटको व्यस्त कार्यक्रमलाई लिएर सो निर्णय गरेको हो । उनकै नेतृत्वमा भारतले पहिलो पटक अष्ट्रेलिया भ्रमणमा टेष्ट र वान डे सिरिज जितेको थियो ।