एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा स्टार्सबर्गलाई २ - ० गोल अन्तरले हराएर पिएसजी अन्तिम १६ मा पुगेको हो ।
घरेलु मैदानमा स्टार स्ट्राइकर नेयामारले चोट बोकेको खेलमा पिएसजीले सहज जित निकालेको हो । पिएसजीलाई जित दिलाउन एडिन्सन काभानी र एन्जल डी मारियाले एक एक गोल गरे ।
पहिलो हाफको तेस्रो मिनेटमै काभानीले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८० औ मिनेटमा डी मारियाले गोल गर्दै पिएसजीलाई २ - ० को सहज जित दिलाए ।
तर, नेयमारले चोट बोकेपछि पिएसजीलाई जित खल्लो भएको छ । खेलको ६० औ मिनेटमा दाहिने खुट्टाको एङ्कलको चोट बोक्दै नेयमारले मैदानबाट बाहिरिएका थिए ।
पिएसजीका प्रशिक्षक थोमस टुसेलले नेयमारको चोट चिन्ताजनक रहेको बताए ।
'नेयमारको चोट चिन्ताजनक छ । किनकी उनले पहिलेको खुट्टा र पहिलेकै स्थानमा चोट बोकेका छन्,' प्रशिक्षक टुसेलले भने ।
गत सिजन पनि नेयमार अहिले लागेकै चोटको कारण लामो समय मैदान बाहिर रहेका थिए । नेयमार रुस विश्वकप अघि मात्र मैदान फर्किएका थिए ।
नेयमारले अब च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ मा म्यानचेस्टर युनाईटेडविरुद्धको खेल गुमाउने छन् । पिएसजीले युनाईटेडसंग फेब्रुवरी १२ मा पहिलो लेग खेल खेल्दैछ ।