काठमाडौं। अन्तत: कर्णाली याक्सका मौसम ढकालले नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ड्सका ओपनरद्वय अनिलकुमार साह र आसिफ सेखको विशाल साझेदारी तोडेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले पछ्याइरहेको छ। उक्त लक्ष्य पछ्याउनेक्रममा अनिल र आसिफले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए। कर्णालीका लागि खतरा बन्दै गइरहेको उक्त साझेदारी मौसमले १०औं ओभरको चौथो बलमा डिप कभरमा रहेका देव खनालबाट आसिफलाई क्याच गराउँदै तोडेका हुन्।
२९ बल खेलेका उनले दुई चौका र दुई छक्कासहित ३६ रन बनाएका थिए। एनपिएलमा पहिलो विकेटका लागि भएको यो नै कीर्तिमानी साझेदारी हो।