काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजलाई विजयी सुरुआत दिलाउनेक्रममा पाकिस्तानी बलर सोहेल तन्विरले अद्भुतपूर्व बलिङ गर्दै सर्वाधिक पाँच विकेट लिए। एनपिएलमा यो उनको कीर्तिमानी हो। चार ओभर बलिङ गरेका ३९ वर्षीय पेसर तन्विरले काठमाडौं गुर्खाजविरुद्ध मात्रै २१ रन मात्रै खर्चिए।
उनले मिचेल लेभिटलाई २५, स्टेफन इस्किनाजीलाई दुई तथा करण केसी, भीम सार्की र साहब अलामलाई समान एक रनमा पभिलियन फर्काए। लामो समयपछि मैदान फर्किएका उनले आफ्नोतर्फबाट दिनुपर्ने प्रदर्शनमा कुनै कमी देखाएनन्। पहिलो खेलमै उनी म्यान अफ द म्याच भए।
यसमा अनुभवले काम गरेको उनले बताए। ‘धेरै समय क्रिकेट नखेल्दा गाह्रो नै हुन्छ। तर पनि मैले चार सयभन्दा बढी खेल खेलेको छु। त्यो अनुभव काठमाडौंविरुद्धको खेलमा काम लाग्यो,’ उनले खेलपछि भने।
उनले गत वर्ष युएस मास्टर्स टी–१० क्रिकेट खेलेका थिए। त्यसपछि उनी पहिलोपल्ट फ्रेन्चाइजी क्रिकेटमा फर्किएका हुन्। उनले आफ्नो टोली टेक्सस चार्जर्सलाई विजेता बनाएका थिए। तर, नेपाली पिचमा खेल्न गाह्रो भएको उनले सुनाए।
‘टी–२० मा बलिङ गर्न कहिल्यै सहज हुँदैन। झन नेपालमा मेरो पहिलो अनुभव थियो। सरफेस अलिक स्लो र स्पिनरलाई हेल्प गर्ने खालको थियो। त्यसैले मैले कन्डिसन नियालेर बलिङ गरेको हुँ। यो क्षेत्रमा खेलेको मलाई अनुभव छ। त्यही अनुभव क्रिजमा खन्याउँदै विभिन्न भेरियन्टमा बलिङ गर्दा सफलता मिल्यो,’ उनले भने।
उनले आफ्नो टोलीमा धेरै युवा खेलाडी रहेको सुनाए। उनीहरूलाई आफ्नो दुई दशक लामो क्रिकेट अनुभव सेयर गरेको पनि उनको भनाइ थियो। नेपालको समर्थक देखेर उनी दंग परे। नेपालमा क्रिकेट मन पराउने धेरै भएको कारण एनपिएलले अझ अगाडि बढाउने उनको भनाइ थियो।
‘यतिधेरै दर्शकका अघि खेल्दा रमाइलो भयो। नेपालीले क्रिकेट मन पराउँछन्। एनपिएलले नेपाली क्रिकेटलाई अगाडी बढाउँछ जस्तो लाग्छ,’ उनले भने।