काठमाडौं। चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल)मा विजयी सुरुआत गरेको छ। बलरमैत्री पिचमा रन बटुल्न संघर्ष गर्दै चितवनले सोमबार काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गरेको हो।
काठमाडौंले दिएको ११२ रनको लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा पाँच विकेट गुमाउँदै ११४ रन बनायो। चितवनले पनि सुरुआत राम्रो गर्न सकेको थिएन। तर, मध्यक्रमका सन्तोष कार्की र शरद भेष्वाकरले छैटौं विकेटका लागि ४६ रनको साझेदारी गरेपछि चितवनले जितसहित प्रतियोगिता सुरुआत गर्न सफल भयो।
३१ बल खेलेका सन्तोषले अविजित रहँदै सर्वाधिक २८ रन बनाए। उनले दुई चौका र एक छक्का प्रहार गरे। शरद ११ रनमा अविजित रहे।
पहिलो पावर प्लमै चितवनले दुई ओपनर गुमायो। हसन इसाखिल १२, दीपक बोहरा सात रनमा पभिलियन फर्किएपछि चितवन दबाबमा परेको थियो। तर, लुक बेन्केनस्टाइनको २२ रनसँगै चितवन खेलमा फर्किन सफल भयो। १७ बल खेलेका उनले एक चौका र दुई छक्का प्रहार गरे। उनी आउट भएलगत्तै कप्तान कुशल मल्ल र रवि बोपारा समान ११ रनमा क्याच आउट भए।
काठमाडौंका शाहब आलमले सर्वाधिक तीन विकेट लिएपनि जितका लागि पर्याप्त बने। चार ओभर बलिङ गरेका उनले २० रन मात्रै दिए। ग्रेहार्ड इरास्मत र डन डाउथवेटले समान एक विकेट आफ्नो नाममा लेखाए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर काठमाडौंले ब्याटिङ थालेको थियो। तर, ३९ वर्षीय पाकिस्तानी बलर सोहेल तन्विरको अगाडी काठमाडौंको ब्याटिङ अर्डर पुरै ध्वस्त भयो। मिचेल लेभिटले २५ र सुमित महर्जनले २७ रनको योगदान दिए। त्यसपछि मात्रै काठमाडौंले निर्धारित २० ओभर नौ विकेट गुमाएर स्कोर्ड बोर्डमा १११ रन पुर्याउन सक्यो।
तन्विरसामू काठमाडौंका ब्याटरले खुलेर खेल्न सकेनन्। उनले पावर प्लेमै स्टेफन इन्कान्जीलाई दुई र लेभिटलाई २५ रनमा पभिलियन फर्काए। त्यसपछि भीम सार्की पनि उनकै बलमा एक रनमा क्रिजबाट बाहिरिए। लगातार विकेट गुमिरहेको अवस्थामा सुमितले काठमाडौंको इनिङ सम्हाल्ने प्रयास गरेका थिए।
तर, मध्यक्रमका शंकर राना र राशिद खानले उनलाई साथ दिन सकेनन्। ४१ बल खेलेका सुमित एक चौकासहित २९ रन बनाएर पभिलियन फर्किए। शंकरले १६ र राशिदले चार रनको योगदान दिए।
तर, तल्लो क्रमका कप्तान करण केसी र शाहब आलम समान एक रनमा क्याच आउट भए। डन डाउथवेटले टिकेर १९ रन जोड्दिए। चितवनका तन्विरले चार ओभरमा २१ रन खर्चिँदै सर्वाधिक पाँच विकेट लिए। रिजन ढकाल, कुशल मल्ल, अमर रौटेला र लुक बेन्केनस्टाइनको नाममा समान एक विकेट रह्यो।