काठमाडौं। पाकिस्तानी बलर सोहेल तान्विरले आफ्नो स्पेलमा अद्भुतपूर्व बलिङ देखाउँदै पाँच विकेट लिएपछि काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजलाई ११२ रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर काठमाडौंले ब्याटिङ थालेको थियो। तर, ३९ वर्षीय तान्विरको अगाडी काठमाडौंको ब्याटिङ अर्डर पुरै ध्वस्त भयो। मिचेल लेभिटले २५ र सुमित महर्जनले २७ रनको योगदान दिए। त्यसपछि मात्रै काठमाडौंले निर्धारित २० ओभर नौ विकेट गुमाएर स्कोर्ड बोर्डमा १११ रन पुर्याउन सक्यो।
तान्विरसामू काठमाडौंका ब्याटरले खुलेर खेल्न सकेनन्। उनले पावर प्लेमै स्टेफन इन्कान्जीलाई दुई र लेभिटलाई २५ रनमा पभिलियन फर्काए। त्यसपछि भीम सार्की पनि उनकै बलमा एक रनमा क्रिजबाट बाहिरिए। लगातार विकेट गुमिरहेको अवस्थामा सुमितले काठमाडौंको इनिङ सम्हाल्ने प्रयास गरेका थिए।
तर, मध्यक्रमका शंकर राना र राशिद खानले उनलाई साथ दिन सकेनन्। ४१ बल खेलेका सुमित एक चौकासहित २९ रन बनाएर पभिलियन फर्किए। शंकरले १६ र राशिदले चार रनको योगदान दिए।
तर, तल्लो क्रमका कप्तान करण केसी र साहब आलम समान एक रनमा क्याच आउट भए। डन डाउथवेटले टिकेर १९ रन जोड्दिए। चितवनका तान्विरले चार ओभरमा २१ रन खर्चिँदै सर्वाधिक पाँच विकेट लिए। रिजन ढकाल, कुशल मल्ल, अमर रौटेला र लुक बेन्केनस्टाइनको नाममा समान एक विकेट रह्यो।