काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा सम्हालिन नसक्दा काठमाडौं गुर्खाज संकटमा परेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौंले पावरप्लेमा तीन विकेट गुमाउँदै ३५ रन बनाएको थियो। काठमाडौंका तीन जना विदेशी खेलाडी नै पावरप्लेमा पभिलियन फर्किए।
काठमाडौंका लागि पाकिस्तानी बलर सोहिल तन्विर घातक बने। पेसर तान्विरले आफ्नो पहिलो ओभरको पहिलो बलमै स्टेफन स्कान्जीको विकेट लिएका थिए। उनले दुई रनमात्रै बनाउन सके। यस्तै, व्यक्तिगत दोस्रो ओभरको चौथो बलमा उनले मिचेल लेभिटलाई पनि पभिलिन फर्काए। क्रिजमा टिकेर खेलिरहेका उनले १६ बलमा चार चौका र एक छक्कासहित २५ रन बनाएका थिए। तर, उनलाई तान्विरले दीपक बोहराबाट क्याच आउट गराए।
४.४ ओभरमा चितवनका कप्तान कुशल मल्लले ग्रेहाड इरास्मतलाई पनि चार रनमै बोल्ड गरे। चार बल नै खेलेका उनले एक चौका प्रहार गरेका थिए।
लेभिट आउट भएपछि पनि काठमाडौंको मध्यक्रम ध्वस्त हुन रोकिएन। भीम सार्की र शंकर रानामगर पनि सस्तैमा समेटिए।
चितवनका तान्विरले सर्वाधिक तीन विकेट लिए। कुशल मल्ल र अमर रौटेलले समान एक विकेट लिए।