एजेन्सी । विमानसहित बेपत्ता भएका इन्ग्लिश प्रिमियर लिग क्लब कार्डिफ सिटीका स्ट्राइकर इमिलियानो साला जीवित भेटिने सम्भावना सकिएको खोजी कार्यमा संग्लग्न अधिकारीहरुले बताएका छन् ।
फ्रेन्च क्लब नान्टेसबाट कार्डिफमा गत शनिबार मात्र अनुबन्धित भएका साला चढेको विमान च्यानल आइसल्याण्ड पुगेपछि सम्पर्कबिहिन बनेको थियो । सालासंगै एक अर्का व्यक्ति समेत विमानमा रहेको बताईएको छ ।
विमान बेपत्ता भएसंगै खोजी कार्यमा जुटेका उद्दारकर्मीका प्रमुख जोनले उक्त समुन्द्रमा मानिस केहि घण्टासम्म मात्र बाच्न सक्ने बताउदै साला सकुशल भेटिने आशा नरहेको बताए । उनको खोजी गर्न ३ वटा पानीजहाज र १ हेलिकप्टर तैनाथ गरिएको छ । तर, उनको अवस्था अझै अज्ञात रहेको छ ।
नान्टेसबाट कार्डिफतर्फ गईरहेको बेला अर्जेन्टिना स्ट्राइकर साला चढेको विमान बेपत्ता भएको थियो । कार्डिफले उनलाई कीर्तिमानी मूल्य १५ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।
२८ वर्षीय साला चढेको विमान दुर्घटना परेको हुन सक्ने अनुमान गरिएको छ । सालाले विमानमा रहदा वाट्सएपबाट परिवारलाई प्लेनमा समस्या आएको सूचना पठाएको पनि अन्तराष्ट्रिय मिडियाले जनाएको छ ।