काठमाडौं। एसिसी यु–१९ एसिया कपमा बंगलादेशविरुद्ध खेलिरहेको नेपालले ब्याटिङमा संघर्ष गरिरहेको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशका कप्तान अजिजुल हाकिमले टस जित्दै नेपाललाई पहिला ब्याटिङको निम्तो दिएका थिए। तर, नेपालले उत्कृष्ट सुरुआत गर्न सकेन। नेपालले पहिलो पावर प्लेमै दुई विकेट गुमाएको थियो। ओपनर मयन यादव छैटौं ओभरको पाँचौं बलमा चार रनमा क्याच आउट भए। सातौं ओभरको पाँचौं बलमा तेस्रो नम्बरमा आएका अर्जुन कुमाल पनि खाता नै नखोली पभिलिन फर्किए।
नेपालले पहिलो पावरप्लेमा दुई विकेट गुमाउँदै ४० रन बनाएको थियो। सुरुआती दुई भरपर्दा ब्याटर गुमाएपछि सम्हालेर खेल्नुपर्ने अवस्थामा नरेन भट्ट पनि चार रनै कृज छाड्न बाध्य भए। उनी १२औं ओभरको दोस्रो बलमा क्याच आउट भएका हुन्। त्यसपछि सन्तोष यादव सात र रोशन विश्वकर्मा दुई रनमा समेटिए।
नेपालको इनिङ्स ओपनर आकाश त्रिपाठीले सम्हालिरहेका थिए। तर, उनी पनि ४३ रनमा क्याच आउट भएपछि नेपालले ब्याटिङमा पुन: संघर्ष गर्न थालेको हो। उनले ७७ बलमा पाँच चौका प्रहार गरे। अन्य खेलाडीले भने बललाई बाउन्ड्री पार गराउन सकेनन्। अहिले नेपालले ३० ओभरमा ६ विकेट गुमाएर ८२ रन बनाएको छ।
समूह ‘बी’ मा रहेको बंगलादेशले पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले पराजित गरेको थियो। तर, श्रीलंकासँग नेपाल ५५ रनले पराजित हुन पुग्यो।