काठमाडौं। खराब बलिङसँगै विराटनगर किङ्सले हारबाट नेपाल प्रिमियर लिग (एनपिएल) सुरु गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा जनकपुर बोल्ड्ससँग विराटनगर आठ विकेटले पराजित भएको हो। जितसँगै जनकपुरले दुई अंक जोडेको छ।
जनकपुरसमक्ष विराटनगरले १२८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। तर, विराटनगर सुरु मै दबाबमा देखियो। फलत: उसले २२ रन अतिरिक्त खर्चियो। यो नै खेलमा जनकपुरको टर्निङ पोइन्ट बन्यो। र, जनकपुरले १५.३ ओभरमा दुई विकेट गुमाउँदै १३१ रन बनाएर सहज जित हात पार्यो।
ओपनर तथा कप्तान अनिलकुमार साह पाँच र आसिफ शेख शून्य रनमै पेभिलियन फर्किएका थिए। तर, लाहिरू मिलान्थाले एकल इनिङ्स खेल्दै जनकपुरलाई जित दिलाए। ५३ बल खेलेका उनले ९ चौका र तीन छक्कासहित अविजित ७५ रन बनाए। उता, हर्ष ठाकेरले २९ रनको योगदान दिए। उनीहरूबीच तेस्रो विकेटका लागि ११६ रनको विशाल साझेदारी भएको थियो।
विराटनगरका क्रिस सोल र प्रतीश जिसीबाहेक अन्य बलरले विकेट लिन सकेनन्।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो।
विराटनगरले सुरुआत भने राम्रो गर्न सकेन। किशोर महतलाई दोस्रो बलमै चौका प्रहार गर्दै आक्रामक सुरुआत गरेका लोकेश बम ६ रनभन्दा अगाडि बढ्न सकेनन्। उनलाई दोस्रो ओभरको पहिलो बलमै ललितनारायण राजवंशीले बोल्ड गरे। त्यसपछि ओमानी ब्याटर अकिब इलियासले ओपनर मार्टिन गप्टिलसँग ४७ रनको साझेदारी गर्दै विराटनगरको इनिङ्सलाई उकास्ने प्रयास गरेका थिए। तर, नवौं ओभरको दोस्रो बलमा उनी मोहम्मद मोहसिनबाट एलबिडब्यु आउट भए।
आउट हुनुपूर्व उनले १८ बलमा एक चौकासहित १५ रन प्रहार गरे। उनी आउट भएसँगै विराटनगरले पुन: ब्याटिङमा संघर्ष गर्न थाल्यो। क्यानडाका कप्तान निकोलस किर्टन नौ रनमा बोल्ड भए। तर, गप्टिलले इनिङ्स सम्हाल्दै ३६ बलमा अर्धशतक पूरा गरेपछि विराटनगरले बलियो स्थितिमा पुग्ने संकेत गरेका थिए।
तर, एनपिएलको पहिलो अर्धशतक प्रहार गरेका उनी १४औं ओभरको अन्तिम बलमा लङ अनमा तैनाथ कप्तान अनिलबाट ५५ रनमा क्याच आउट भए। त्यसपछि पुन: विराटनगरले ब्याटिङमा संघर्ष गर्न थाल्यो। बसिर अहमद सात, राजेश पुलामी एक र प्रतीश दुई रनमा पेभिलियन फर्किएसँगै जनकपुर खेलमा पुनरागमन गर्न सफल भयो।
तल्लो क्रमका कप्तान सन्दीप लामिछाने, जितेन्द्र मुखिया र क्रिस सोलले ब्याट चलाउन नसक्दा विराटनगर १९ ओभरमा १२७ रनमै अलआउट हुन पुग्यो।
जनकपुरका ललितनारायण राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले २८ रन खर्चिए। किशोर महतो र हर्ष ठाकरेको नाममा समान दुई विकेट रह्यो। यस्तै, मोहम्मद महसिन र बेन मिकेले एक विकेट आफ्नो नाममा टिपाए।
आइतबारका खेल
काठमाडौं गुर्खाज भर्सेस चितवन राइनोज ( बिहान ९:१५ बजे)
जनकपुर बोल्ड्स र कर्णाली याक्स (दिउँसो १:१५ बजे)