काठमाडौं। लिभरपुलका डिफेन्डर इब्राहिम कोनाटे चोटका कारण आइतबार म्यानचेस्टर सिटीविरुद्धको इङ्लिस प्रिमियर लिग खेल गुमाउने भएका छन्।
बुधबार राति च्याम्पियन्स लिगअन्तर्गतको खेलमा रियल म्याड्रिडविरुद्ध २–० को हार बेहोरेका बेला अन्तिम सेकेन्डमा रियलका स्ट्राइकर एन्ड्रिकसँग ठोक्किन पुग्दा कोनाटे घाइते भएका थिए।
लिभरपुलका प्रशिक्षक अर्ने स्लटले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कोनाटे खेलबाट बाहिर रहने पुष्टि गरेका थिएनन्। तर, केही घण्टापछि कोनाटेले इन्स्टाग्राममा पोस्ट गर्दै खेल गुमाउने संकेत गरेका थिए।
पोस्टमा उनले लेखेका छन्, ‘बुधबार रातिको उत्कृष्ट खेलको अन्त्यमा यस्तो चोट व्यहोर्नुपर्दा म निकै निराश छु। अब म रिकभरी प्रक्रिया सुरु गर्नेछु, तर एउटा कुरा पक्का हो म फिर्ता आउनेछु र फेरि एकपटक आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछु। एनफिल्डका अद्भुत समर्थकहरूलाई धन्यवाद। हामी अघि बढिरहनेछौं र म हरेक कदममा टोलीलाई समर्थन गर्नेछु।’
लिभरपुलले कोनाटेको स्थानमा डिफेन्स लाइनमा भर्जिल भान डाइकसँग जो गोमेज र जेरेल क्वानासालाई समावेश गर्ने तयारी गरेको छ। हाल लिभरपुल लिग तालिकामा म्यानचेस्टर सिटीभन्दा ८ अंकले अगाडि छ।