काठमाडौं। जनकपुर बोल्ड्सका मुख्य प्रशिक्षक पुवुदु दासानायेकले क्रिकेटको सबैभन्दा छोटो फर्म्याटको टी २० मा नेपाललाई पहिलोपल्ट विश्वकपमा पुर्याएका छन् । तर, ती सबै इतिहास हुन्। अहिले उनको प्रशिक्षण पहिलाको जति ठिटलाग्दै छैन। यस्तोमा फेरि फरक भूमिकामा नेपाल फर्किएका उनलाई नेपाल क्रिकेट संघ (क्यान)को आयोजना शनिबारदेखि आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल)मा साख जोगाउनुपर्ने चुनौती छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको कप्तानी रहेको विराटनगर किङ्स अक्सनमा त्यति भाग्यमानी हुन सकेन। किनभने राष्ट्रिय टोलीमा रहेका प्रतीश जिसी मात्रै अक्सनबाट विराटनगरले भित्र्याउन सक्यो। अन्य भने राष्ट्रिय टोलीमा खासै उत्कृष्ट प्रदर्शन देखाउन नसकेर बाहिरिएका र उमेर समूहमा खेलिरहेका खेलाडीको समिक्षण यो टोलीमा छ।
तर, सन् २०१५ को एकदिवसीय विश्वकपमा न्युजिल्यान्डलाई सेमिफाइनल पुर्याउन २३७ रनको अविजित इनिङ्स खेलेका मार्टिन गुप्टिलको आगमनले भने यो टोलीलाई बलियो बनाएको छ। उनीबाहेक क्यानडका ब्याटर निकोलस किर्टन र ओमनाका बलर अकिब इलियास र स्कटल्यान्डका बलर कृश शोलको पनि आगमनले विराटनगर उत्साहित देखिन्छ। तर, पहिलो खेलमा अफगानिस्तानका इस्मत अलामको अनुपस्थिति रहने छ।
यता जनकपुर बोट्ल्स भने ससक्त देखिन्छ। नेपाली राष्ट्रिय टोलीबाट ओपनिङ गर्दै आएका अनिलकुमार साह र आसिफ शेखको जोडीबाट केही आस गर्न सकिने अवस्था छ। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले उनीहरूलाई भरखरै जोडी बाँध्दिएका हुन्। यो जोडी जम्ने क्रममा छ। यी दुईबाहेक जनकपुर स्पिनर ललितनारायण राजवंशीसँग पनि अत्यधिक आशावादी हुन सक्ने छ। टी २० आई फर्म्याटमा मात्रै २३ खेल खेलका उनले २१ विकेट लिइसकेका छन्। तर, पहिलो खेलमा जेम्स निशमको अनुपस्थितिले भने जनकपुरलाई खड्किने छ। युएईमा टी १० लिग खेल्न पुगेका उनी शनिबार मात्रै नेपाल फर्किने कार्यक्रम रहेको जनकपुरले जनाएको छ।
यी दुईको प्रतिस्पर्धामा खेल परिवर्तन गर्न सक्ने दुई खेलाडी :
सन्दीप लामिछाने, विराटनगर
राष्ट्रिय टोलीका मुख्य खेलाडी सन्दीप लामिछाने निक्कै विश्वासिला स्पिनर हुन्। जनवरी २०१८ मा आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध डेब्यु गरेका उनले सानै उमेरमा आइपिएल, बिबिएल र सिपिएलदेखि विश्वका प्राय: फ्रेन्चाइजी लिग खेलिसकेका छन्। तर, उनले खेलेका फ्रेन्चाइजी लिगले अहिलेसम्म उपाधि जित्न भने सकेको छैन। तर, टी २० आईमा कम खेलमै १०० विकेटको आँकडा छुने सूचीमा दोस्रो स्थानमा रहेका उनी प्रभावशाली बलर मानिन्छन्। नेपालको जर्सीमा ५८ इनिङ्स खेलेका उनले १०८ विकेट पुर्याइसकेका छन्।
विश्व क्रिकेटमा नाम चलेका धेरै खेलाडीविरुद्ध बलिङ गरिसकेको अनुभव भएको हुनाले पनि उनले एनपिएलमा सोही लय समात्ने अपेक्षा गरिएको छ।
अनिलकुमार साह, जनकपुर
अनिल त्यस्ता भाग्यमानी क्रिकेटर हुन्, जसो मार्की नपाएपनि कप्तानीको जिम्मेवारी पाएका छन्। बाँकी सात टोलीले भने मार्की खेलाडीलाई नै कप्तानको जिम्मेवारी प्रदान गरेको छ। काठमाडौं गुर्खाजका करण केसी, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, लुम्बिनी लायन्सका रोहितकुमार पौडेल, मार्की खेलाडी विराटनगर किङ्सका सन्दीप लामिछाने, कर्णाली याक्सका सोमपाल कामी, चितवन राइनोजका कुशल मल्ल र सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीलाई नै कप्तानको जिम्मेवारी पाएका छन्।
त्यस्तै जनकपुरको मार्की खेलाडी भने आशिफ शेख थिए। तर, अन्तिममा जनकपुरले अनिललाई कप्तानी सुम्पिएको हो। जनकपुरले अक्सनमा आफ्नै प्रदेशको खेलाडीलाई बढी प्राथमिकता दिएको छ। त्यसैले उनलाई ती खेलाडीले कस्तो प्रदर्शन गर्छन् भनेर धेरै ज्ञान छ। अनिलले पनि सन्दीपभन्दा केही दिन अघि मात्रै राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन्। तर, चोटका कारण उनको क्रिकेट करियरले सन्दीपको जति उचाइ लिएन। यद्यपि, पछिल्लो समय भने उनी राष्ट्रिय टोलीको नियमित सदस्य बनिरहेका छन्। नियमित ओपनर कुशल भुर्तेललाई परिवर्तन गरेर आसिफसँग पछिल्लो समय जोडी बाँधेका उनले नेपालबाट ११ इनिङ्स खेलिसकेका छन्। तर, उनले सोचेजस्तो प्रदर्शन भने गर्न सकेका छैन। यद्यपि उनी कीर्तिपुरको मैदानबारे भलिभाँती जानकार छन्। गत फ्रेबुअरीमा कीर्तिपुरमै भएको एकदिवसीय फर्म्याटको प्रधानमन्त्री कपमा सर्वाधिक ३८६ रन प्रहार गरेर राष्ट्रिय टोलीमा फर्किएका थिए। त्यसैले विराटनगर टी २० फर्म्याटमा उनीबाट अत्याधिक साबधान हुनेछ।