काठमाडौं। अन्ततः सुजन डंगोलको उत्कृष्ट प्रदर्शनमा मनाङ मस्र्याङ्दी क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा जितविहीन यात्रा टुंग्याएको छ । चार खेलमा जितविहीन भएको मनाङले शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा १०औं स्थानमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरेको हो ।
अर्को खेलमा जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । जितसहित छैटौं स्थानको मनाङले १३ खेलबाट सात जित, एक बराबरी र पाँच हारसहित २२ अंक पु¥याएको छ । समान खेल खेलेको मच्छिन्द्रको २२ अंक नै रहे पनि गोलअन्तरमा अगाडि छ । जावलाखेलको १९ र आर्मीको नौ अंक छ ।
आर्मीले ३१औं मिनेटमै राज अधिकारीको गोलबाट सुरुआती अग्रता लिएको थियो । सेन्ट्रल ब्याक अनुभव पुरीले प्रहार गरेको फ्रिकिकमार्फत उनले गोल गरेका हुन् । लिफ्टेट बलमा हेडिङ गर्न अगाडि बढेका राजलाई रोक्ने क्रममा मनाङका गोलकिपर रोजन प्रधानको हात ठोकिन पुगे पनि बलले जाली चुम्यो ।
पहिलो हाफमा पछाडि रहे पनि मनाङले सुजनको उत्कृष्ट प्रदर्शनबाट पुनरागमन गर्न सफल भयो । ५७औं मिनेटमा कप्तान निशान्तराज लावतीले प्रहार गरेको फ्रिकिकलाई फिनिसिङ टच दिए । उनलाई आर्मीका रक्षक आलोक थारूले रोक्ने प्रयास गरे पनि सफल हुन सकेनन् । ८८औं मिनेटमा लामो क्रसलाई रोक्न राम अगाडि बढेका थिए । तर, उनीले सही जजमेन्ट गर्न नसक्दा सुजनले सहजै बिट गर्दै मनाङको जितविहीन यात्रा टुंग्याए ।