एजेन्सी । इंग्ल्याण्डका पुर्व कप्तान डेबिड बेकह्यामले नेशनल लिग क्लब साल्फर्डको दश प्रतिशत सेयर किन्ने भएका छन् । खरिद गरे पश्चात बेकह्याम म्यानचेस्टर युनाइटेडका समकालिन खेलाडीहरु ग्यारी नेभिल, रायन गिग्स, फिल नेभिल, निक्की बट र सिंगापुरे ब्यापारी पिटर लिमको साझेदार बन्ने छन् ।
क्लबमा पिटर लिमको ४० प्रतिशत सेयर रहेको छ भने बाँकि ६ खेलाडीको समान दश प्रतिशत हुनेछ । यस अघिनै २०२० मा मेजर लीग सकार खेल्ने नवप्रवेशी टोली इन्टर मायामीको मालिक बनिसकेका बेकह्यामको साल्फार्डमा खरिद गरेको सेयर फुटबल संघले स्वीकृत गर्न बाँकीनै छ।
स्वीकृत भएपश्चात ग्यारी नेभिल र बेकह्यामले साल्फार्डको खेल छिट्टैनै अवलोकन गर्ने बिबिसीले जनाएको छ । साल्फर्ड हाल इङ्ग्लिश फुटबलको पाँचौ श्रेणीको लिगमा तेस्रो स्थानमा रहेको छ ।
सेयर खरिद गरे पश्चात क्लबले जारी गरेको बिज्ञप्तिमा बेकह्यामले,' यो क्लब र यसमा आवद्द सबै मेरा लागि बिशेष छन् । मेरो करियरको सुरुआती दिनहरु साल्फर्डमै बितेको थियो र आज मलाई निकै राम्रो महसुस भैरहेको छ। '
उनले थपे ,' साल्फर्डले निकै छोटो समयमा लोभलाग्दो सफलता हात पारेको छ र समर्थकहरु पनि उत्कृष्ट रहेका छन्। म साल्फर्ड सिटीमा पुन: धेरै समय बिताउन आतुर छु। ' क्लबले बिज्ञप्तिमा क्लबको लागी अहिले सहि समय भएको र बेकह्यामपनि आवद्द भएको क्षण संस्थाको लागि एतिहासिक रहेको उल्लेख गरेको छ।