काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मात्रै होइन, समग्र नेपाली खेलकुदमै ठूलै चहलपहल ल्याउँदै शनिबार सुरु हुँदै छ। उस्तै किसिमले फुटबलमा अगाडि बढाउने अपेक्षा गरिएको नेपाल सुपर लिग (एनएसएल) को भने तेस्रो संस्करण कहिले गर्ने भन्ने अझैसम्म अनिश्चित छ।
चौधरी ग्रुपनिकट कम्पनी नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रा.लि( (एनएसइएम) ले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग स्वीकृति लिएर अगाडि बढाएको एनएसएलको पहिलो संस्करण २०२१ अप्रिल २४ देखि मे १५ सम्म भएको थियो। दोस्रो संस्करण २०२३ नोभेम्बर २४ देखि डिसेम्बर ३० सम्म सञ्चालन गरियो। त्यसको एक वर्ष हुँदा पनि तेस्रो संस्करण कहिले गर्ने भन्ने टुंगो लागेको छैन।
खासमा बर्सेनि आयोजना गर्ने घोषणा गरिएको एनएसएलको तेस्रो संस्करण २०२४ सेप्टेम्बर–अक्टोबरमा आयोजना गर्नको लागि एनएसइएमले एन्फासँग समय मागेको थियो। त्यसैअनुसार एन्फाले एनएसएललाई वार्षिक क्यालेन्डरमा राखेको थियो। त्यसपछि एनएसइएमले एन्फासँग २०२५ मार्च–अप्रिलको समय मागेको थियो। यसबारे अहिलेसम्म कुनै निर्णय भएको छैन।
‘एनएसलएको लागि उसैले मागेअनुसार एन्फाले दिएको समय घर्किसक्यो। गत वर्षकै समय (नोभेम्बर–डिसेम्बर) मा आयोजना गर्नुस् भन्दा मान्नुभएन। फेरि मार्च–अप्रिल, २०२५ को लागि समय माग गर्नुभएको छ। यसबारे कुनै निर्णय भएको छैन। किनभने एन्फाको पनि आफ्नै घरेलु प्रतियोगिता र एसियन कप छनोटलगायत अन्तर्राष्ट्रिय खेलहरू हुँदै छ,’ एन्फाका एक पदाधिकारीले खेलपाटीसँग भने।
सात सहरका ७ टिम सहभागी एनएसएलका पहिलो संस्करणमा काठमाडौं रेजर्स च्याम्पियन भएको थियो। तीन टिम थपिएको दोस्रो संस्करण पुरानो क्लब विराटनगर सिटी एफसीले भने खेलेन, जसको उपाधि ललितपुर सिटी एफसीले जितेको थियो। धनगढी एफसी दुवै संस्करणको फाइनलमा रोकिएको थियो।