काठमाडौं। मंगलबार मात्रै न्युरोड टिम (एनआरटी) ले शीर्ष स्थान खोसेको विभागीय टोली नेपाल पुलिस क्लबलाई ललित स्मृति एन्फा यु–१८ युथ लिगमा संकटा फुटबल क्लबले अर्को धक्का दिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा लगातार तीन खेलमा अपराजित रहेको संकटाले पुलिसमाथि २–० को सानदार जित हासिल गरेको हो। पहिलो चरणको अन्तिम खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) सँग २–० ले पराजित भएयता संकटाले कुनै खेल गुमाउनु परेको छैन।
त्यसयता संकटाले मच्छिन्द्र फुटबल क्लबलाई ४–२ र मनाङ मर्स्याङ्दी क्लबलाई ४–१ ले पराजित गर्दै विजयी भएको थियो। यो यात्रा कायम राख्नेक्रममा सविनकुमार लुङ्गेली मगर नायक बने। उनकै दुई गोलसँगै संकटाले अर्को जित हासिल गरेको हो। पहिलो हाफको निर्धारित ४५ मिनेटसम्म संकटालाई पुलिसले गोलरहित बराबरी रोकेको थियो। तर, इन्जुरी समयमा पुलिसका डिफेन्डर बुद्धि बुद्ध र गोलकिपर सागर चन्दबीच तालमेल नमिल्दा त्यसको फाइदा संकटाले उठायो। अनिस थापामगरको क्रसलाई रोक्ने क्रममा बुद्ध र सागर अलमलिँदा सविनले सहजै गोल गरे।
अर्को गोल पनि इन्जुरी समयमै भयो। दोस्रो हाफमा थप गरिएको सातौं मिनेटमा सविनले अर्को गोल गरे। कृष्णबहादुर आलेको लामो पासमा सविनले फार पोस्टमा उनले सहजै गोल गरे।
जितसँगै संकटा २४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको पुलिसको २५ र चौथो स्थानको थ्री स्टार क्लबको २३ अंक छ। अर्को खेलमा भने एपिएफले उपहार गोलमार्फत तीन अंक सुरक्षित गर्यो। जितसँगै छैटौं स्थानमा उक्लिएको एपिएफले १३ खेलबाट २१ अंक पुर्याएको छ।
पराजित सातदोबाटो युथ क्लबले समान खेलबाट चार अंक बटुलेको छ। सातदोबाटोलाई हराउन उसकै डिफेन्डर सिर्जनजंग राईले गरेको गोल पर्याप्त बन्यो। उनले विपक्षी खेलाडी साजन योञ्जनको क्रसलाई रोक्नेक्रममा उनले बललाई आफ्नै पोस्टको दिशा दिए।