काठमाडौं। तीव्र गतिका बलर मार्को जेनसेनको सानदार प्रर्दशनसँगै दक्षिण अफ्रिकाले डरबनमा खेलिएको पहिलो टेस्टमा श्रीलंकालाई पहिलो इनिङ्समा ४२ रनमा अलआउट गरेको छ।
यो श्रीलंकाको टेस्ट इतिहासमा सबैभन्दा कम स्कोर हो। जेनसेनले आफ्नो करियरको उत्कृष्ट प्रदर्शन गर्दै १३ रन खर्चिएर सात विकेट लिए र श्रीलंकाका ब्याट्सम्यानलाई १४ ओभर पनि टिक्न दिएनन्।
जेनसेनका अलावा जेराल्ड कोएत्जीले १८ रन खचिएर दुई र कागिसो रबाडाले एक विकेट लिए। श्रीलंकाबाट कामिन्दु मेन्डिसले सवार्धिक १३ रन बनाए। उनीबाहेक लाहिरु कुमाराले अविजित १० रन बनाए। मेन्डिस र लाहिरुबाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। श्रीलंकाका पाँच ब्याट्सम्यानले खाता पनि खोल्न सकेनन्।
श्रीलंकाले आफ्नो ३० वर्ष पुरानो अनावश्यक कीर्तिमान पनि तोडेको छ। यसअघिको टेस्टमा श्रीलंकाको न्यूनतम स्कोर ७१ रन थियो। श्रीलंकाले सन् १९९४ अगस्टमा पाकिस्तानविरुद्ध खराब प्रदर्शन गरेको हो। टेस्ट क्रिकेटको इतिहासमा यो छैटौं सबैभन्दा कम स्कोर हो। अस्ट्रेलिया, न्युजिल्यान्ड र भारतको टोली टेस्टमा ४२ रनमा अलआउट भएका थिए।