एजेन्सी । अघिल्लो महिना म्यानचेस्टर युनाइटेडको प्रशिक्षकबाट बर्खास्त भएका जोसे माउरिन्होले सन् २०२२ मा हुने विश्वकपलाई लिएर कतारले गरेको तयारी देखेर आफु प्रभावित भएको बताएका छन् ।
यसै साता कतार भ्रमणमा निस्किएका माउरिन्होले कतारको तयारी देखेपछि आफू आश्चर्यचकित बनेको बताएका छन् । यस्तै उनले उक्त विश्वकपले इतिहासमा नयाँ आयाम दिनेमा आफु ढुक्क रहेको बताएका छन् ।
'म निकै प्रभावित भएको छु । मैले यहाँ आउनु पूर्वनै निकै उच्च स्तरको हुने अनुमान लगाइसकेको थिएँ,' माउरिन्होले भने, 'मलाई विश्वास छ कि हामीमध्ये धेरै युरोपका खेलाडी, प्रशिक्षक, क्लबहरूसंग कतारलाई लिएर धेरै प्रश्न हुन्छ तर जो कोहि यहाँ आइपुगेका छन् उनीहरुसंग अब प्रश्न चिन्हहरु छैन होला ।'
युनाईटेडबाट बर्खास्त परेपछि फुर्सदमा रहेका माउरिन्होले सन् २०२२ विश्वकप सफल र अद्भूत हुने बताए ।
'सुविधाहरु अद्भुत छन् । कतारीहरुले प्रत्येक विस्तारको बारे सोचेका छन् । सबै टोलीका लागि प्रशिक्षण स्थानहरूको संख्या, सबै स्टेडियमहरूको सुन्दरता र सुरक्षा, प्रत्येक स्टेडियमको बीचमा छोटो दूरीको स्थान कुनै टोलीमा एक महिनाको लागि बस्न सक्छ,' माउरिन्होले भने ।
कतारको मौसम विश्वकपलाई बाधा हुने अड्कल काटिदै गर्दा माउरिन्होले भने मौसम कठिन नहुने र कतारमा आयोजना हुँदा सारा फुटबल जगतले न्याय पाउने दाबी गरे ।
'मलाई लाग्छ कि यो पहिलो पटक हुनेछ जहाँ सबै टोलिले आफ्नो स्थान, होटेल र प्रशिक्षण मैदान छनौट गर्न पाउनेछ र यो टोलि र खेलाडीको घर हुनेछ जबसम्म टोलि विश्वकपमा टिकी रहन्छ,' माउरिन्होले थपे।