काठमाडौं। च्याम्पियन्स लिगअन्तर्गत बुधबार एस्टन भिल्ला र युभेन्टसबीचको खेल गोलरहित बराबरीमा टुंगियो। खेलमा अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले फेरि एकपल्ट आफ्नो उत्कृष्ट प्रदर्शन दिँदै सबैको ध्यान खिच्न सफल भए।
खेल सुरु हुनुअघि मार्टिनेज आफ्ना दुई सन्तानसँग मैदानमा उत्रिएका थिए। लगातार दुई वर्ष विश्वकै उत्कृष्ट गोलकिपरका रूपमा उनले जितेका पुरस्कार समर्थकमाझ देखाइएको थियो। पछिल्लो पुरस्कार उनले गत महिना बलोन डि’ओर समारोहमा जितेका थिए। तर, खेलको अन्त्यतिर उनले गरेको एक अद्भुत बचाउले ती पुरस्कारको उनी हकदार रहेको प्रमाणित गर्यो।
युभेन्टसका फ्रान्सिस्को कोन्सेइसाओले निर्णायक गोल गर्ने दुर्लभ मौका पाए। तर, लगभग गोललाइन पार भइसकेको बललाई अविश्वसनीय ढंगले रोक्न उनी सफल भए। रिप्लेले बल लगभग पूरै लाइन पार गरिसकेको देखाए पनि मार्टिनेजले गोल हुन दिएनन्। यस अद्वितीय प्रदर्शनपछि उनका टोलीका सहकर्मीले उनलाई तत्काल बधाई दिए।
यसले २०२२ कतार विश्वकपको फाइनलमा फ्रान्सविरुद्ध मार्टिनेजको ऐतिहासिक बचाउको सम्झना दिलायो। रान्डल कोलो मुआनीको प्रहार रोक्दै उनले अर्जेन्टिना विश्वकप दिलाएका थिए। बुधबारको प्रदर्शन त्यो ऐतिहासिक बचाउसँग तुलना गर्न सकिने चर्चा पायो।
युभेन्टसका गोलकिपर मिशेल डी ग्रेगोरियोले खेलको अन्त्यतिर आफ्नो गल्ती भए पनि आफ्नो टोलीले हार बेहोर्नु नपरेकोमा राहत महसुस गरे। ‘स्टपेज टाइम’को अन्तिम क्षणमा एस्टन भिल्लाका डिएगो कार्लोसको दबाबमा डी ग्रेगोरियोले क्रस समाल्न सकेनन्। मर्गन रोजर्सले त्यसै मौकामा बललाई जाली चुमाए। तर, रेफ्रीले सुरुमा गोल दिए पनि दुई मिनेट लामो भिएआर जाँचपछि कार्लोसले डी ग्रेगोरियोमाथि फाउल गरेको ठहर गर्दै गोल रद्द गरियो।
भिल्लाका फरवार्ड ओली वोटकिन्सले निर्णयप्रति असहमति जनाउँदै भने, ‘मलाई लाग्छ, यो निर्णय सफ्ट थियो। सम्भवतः प्रिमियर लिगमा यो गोल मानिन्थ्यो। तर, युरोपेली प्रतियोगितामा गोलकिपरलाई धेरै संरक्षण गरिन्छ।’