काठमाडौं। चितवन राइनोजका नामिबियाका ब्याटर जान निकोल लोफ्टी–इटन नेपाल आइपुगेका छन्। उनी बुधबार नेपाल आइपुगेका हुन्।
बायाँ हाते २३ वर्षीय ब्याट्सम्यानले गत फ्रेबुअरीमा टी–ट्वेन्टी आईमा सबैभन्दा छिटो शतकको कीर्तिमान बनाएका थिए (अहिले सबैभन्दा छिटो शतक बनाउने सूचीमा उनी दोस्रो स्थानमा छन्)। नेपालमा भएको घरेलु टोली, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय शृंखलाको उद्घाटन खेलमा उनले सो कोसेढुङ्गा पार गरेका हुन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालविरुद्ध खेल्दै उनले ३३ बलमा शतक बनाएका थिए। एक बल कम खेल्दै उनले नेपाली अलराउन्डर कुशल मल्लको (हाल सबैभन्दा छिटो शतक बनाउने सूचीमा चौथो स्थानमा) कीर्तिमान तोडेका हुन्। कुशलले गत वर्ष चीनको हन्झाउमा भएको १९औं एसियाली खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए। दुवैले चितवन राइनोजबाट एनपीएल खेल्नेछन्।