सिमरा । विभागीय टिम त्रिभुवन आर्मी क्लब सिमरामा जारी दशौं संस्करणको रुस्लान सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक नव जन जागृति क्लबलाई १ - ० गोल अन्तरले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो ।
सिमरा रंगशालामा आर्मीलाई जित दिलाउन कप्तान भरत खवासले निर्णयक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एक गोल गर्दै आर्मीले उपाधि भिडन्त पक्का गरेको हो ।
खेलको ५० औ मिनेटमा आयोजक नव जन जागृतिको गोलकिपर टेकेन्द्र थापा अगाडि बढेको अवस्थामा डिवक्स बाहिरबाट भरतले चिप गोल गरे ।
योसंगै आर्मी लगातार तेस्रो प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगमा चौथो भएको आर्मीले फिदिममा भएको फिदिम गोल्डकपमा उपविजेता बन्दा बिरगंजमा आयोजना भएको विशाल मेमोरियल गोल्डकपको उपाधि जितेको थियो ।
अब आर्मीले उपाधिका लागि थ्री स्टार र हिमालयन शेर्पा क्लबबीचको विजेतासंग खेल्नेछ ।
प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख नगद सहिद ट्रफि प्राप्त गर्नेछ ।