काठमाडौं । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मान्यता दिएको छ ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगितालाई आइसिसीले मान्यता दिएको जनाएको छ ।
'प्रतियोगिता माघ २६ गतेबाट हुन गईरहेको छ । र, प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता पाएको जानकारी गराउँदछौं,' एकेडेमीका अध्यक्ष सुवास शाहीले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ ।
यस्तै एकेडमीले आइसिसीले प्रतियोगिताबारे आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई समेत जानकारी गराइसकेको जनाएको छ ।
यस संस्करणको डीपीएल आगामी माघ २६ गतेबाट धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुदैछ । देशकै सर्वाधिक पुरस्कार राशीको डीपीएलमा धनगढी स्टार्स, सीवाईसी अत्तरीया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन र बिराटनगर किंग्सले प्रतिस्पर्धा गर्ने छन् ।
टी-ट्वान्टी आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टिमले एक अर्को टोली प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोली प्ले अफमा छनोट हुनेछ । पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।
प्रतियोगिताका लागि ६ वटै टोलीले अक्सनबाट खेलाडी लिइसकेका छन् । डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनैतिक खेलाडी र दुई विदेशी गरि १५—१५ खेलाडी टोलीसँग आवद्ध गरेका छन् ।