काठमाडौं। नेपालले दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा मंगलबार दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेको छ।
पाकिस्तानको लाहोरमा जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो। यसअघि नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको हो। जितसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १८७ रन मात्रै बनाउन सक्यो। दक्षिण अफ्रिकाका ओपनर बुहले भिडलाले अविजित रहँदै शतक प्रहार गरेपनि जितका लागि पर्याप्त बनेन। ७१ बल खेलेका उनले आठ चौकासहित १०० रनको योगदान दिए। लेसिबा एफ्राइम माथापो ४६ र एडरिक तेर हार ६ रनमा आउट हुँदा लेसेडी लेसुफी ११ रनमा अविजित रहे।
त्यसअघि नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९८ रन बनाएको थियो। नेपालका ओपनर नरेश चौधरीले सर्वाधिक ८० रन बनाए। ५७ बल खेलेका उनले चार चौका प्रहार गरे। सागर लामा ४०, पदम बडैला ३४ र भरत थापा ११ रनमा आउट हुँदा सुनिल मगर एक रनमा अविजित रहे।
दक्षिण अफ्रिकाका भिडलाले एक विकेट लिए। भारतले प्रतियोगितबाट नाम फिर्ता लिइसकेको कारण नेपालले अब घरेलु टोलीसँग मात्रै खेल्न बाँकी छ। यही खेलले सेमिफाइनल समिकरणको टुंगो लाग्नेछ। यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग तथा दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो।