काठमाडौं। नेपालले दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सोमबार अफगानिस्तानलाई पराजित गरेको छ। पाकिस्तानको लाहोरमा जारी प्रतियोगितामा नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको हो।
नेपालले जितका लागि अफगानिस्तानसामु २२९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर, अफगानिस्तानले सबै विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो। अफगानिस्तानका अबाशीनले ५२, द्वारनले २१ तथा शराफतले १३ रन बनाए।
बलिङतर्फ नेपालका सुनिल रानामगरले सर्वाधिक तीन विकेट लिए। भरत थापा, अमिश गुरागाईँ र सुनिल सुवेदी क्षेत्रीले एक/एक विकेट लिए। त्यसअघि टस हारेपछि पहिला ब्याटिङ गरेको नेपालले २२८ रन बनाएको थियो।
नेपालका उपकप्तान पदमबहादुर बडैला र नरेश चौधरीले अर्धशतकीय इनिङ्स खेले। बडैलाले ५१ बलमा अविजित रहेर ९२ रन बनाए। चौधरीले ६२ बलमा अविजित ७२ रन बनाए। यस्तै, भरत थापाले २१ रन बनाए।
नेपालले मंगलबार दक्षिण अफ्रिकासँग चौथो खेल खेल्ने छ। यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग तथा दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो।