काठमाडौं। भारतीय क्रिकेटरहरू इन्डियन प्रिमियर लिग (आइपिएल) अक्सनमा ठूलो रकम कमाउँदै गर्दा बुलावायोको मैदानमा भने पाकिस्तानका ब्याट्सम्यानहरूले जिम्बावेका बलरसामू चुनौती पेस गर्न सकेनन्।
वर्षाले प्रभावित पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा जिम्बावेले उत्कृष्ट प्रदर्शन गर्दै डकवर्थ लुइस (डिएलएस) पद्दतीमार्फत पाकिस्तानलाई ८० रनले हराउँदै तीन खेलको श्रृंखलामा १–० को अग्रता लियो।
जिम्बावेका अलराउन्डर सिकन्दर रजाले खेलमा निर्णायक भूमिका निर्वाह गरे। उनले ३९ रनको महत्त्वपूर्ण इनिङ्स खेलेर जिम्बावेको स्कोर ७ विकेटको क्षतिमा १२५ रनबाट २०५ रनमा पुर्याए। उनले नवौं नम्बरका ब्याट्सम्यान रिचर्ड नागरावासँग ६२ रनको साझेदारी गरे, जसमा नागरावाले सर्वाधिक ४८ रन बनाउँदै टोलीको स्कोर बलियो बनाए।
बलिङतर्फ रजाले मात्र ७ रन खर्चेर २ विकेट लिए। पाकिस्तानले २१ ओभरमा ६ विकेट गुमाउँदै ६० रन मात्र बनाउन सकेको थियो। त्यसपछि परेको वर्षाले खेल रोकिएपछि डिएलएस पद्दतीअनुसार जिम्बावेलाई विजयी घोषित गरियो।
पाकिस्तानले आफ्नो मुख्य ब्याट्सम्यान बाबर आजमलाई सन् २०१९ पछिको पहिलोपटक एकदिवसीय फर्म्याटमा आराम दिएको थियो। अब बुलावायोमै तीन टी–२० खेल खेलिने तालिका छ।
हारपछि पाकिस्तानी कप्तान मोहम्मद रिजवानले भने, ‘यो नतिजा हाम्रो लागि निराशाजनक रह्यो। सिकन्दर रजाले आफ्नो अनुभव प्रयोग गर्दै खेललाई अन्तसम्म लगे, जसले हामीलाई दबाबमा पारेको थियो।’