एजेन्सी । घरेलु टोली न्युजिल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारतले जित निकालेको छ । बुधबार भएको पहिलो खेलमा भारतले न्युजिल्याण्डलाई डिएल पद्दतिको आधारमा ८ विकेटले हराएको हो ।
नापियरमा न्युजिल्याण्डले दिएको १५८ रनको लक्ष्यसहित भारतले जवाफी ब्याटिङ गरिरहदा खेल वर्षाले प्रभावित गरेको थियो ।
खेल वर्षाले प्रभावित गरेपछि भारतले डिएल पद्दतिको आधारमा ४९ ओभरमा १५६ रनको नयाँ लक्ष्य पाएको थियो । उक्त लक्ष्य भारतले ३४ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा शिखर धवनले अविजित ७५ रनको योगदान दिए ।
यस्तै कप्तान विराट कोहलीले ४५ रन जोड्दा अम्बाती रायडुले अविजित १३ रन जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड ३८ ओभरमा अलआउट हुँदै १५७ रनमा समेटियो । न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ६४ रनको अर्धशतकीय इनिङस खेले । यस्तै रोस टेलरले २४ रन जोडे ।
न्युजिल्याण्डलाई सस्तैमा समेट्न भारतका कुलदीप यादवले ४ विकेट लिए । यस्तै मोहमद शामीले ३ तथा युजभेन्द्र चाहलले २ विकेट लिए ।
जितसंगै भारतले ५ खेलको सिरिजमा १ - ० को अग्रता बनाएको छ । दुईबीचको दोस्रो खेल शनिबार हुनेछ ।