काठमाडौं। कर्णाली याक्सले ओमानका पूर्वकप्तान जिसन मक्सूदलाई आइतबार अनुबन्ध गरेको छ।
हिमालयन बिल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल) का लागि ३७ वर्षीय अनुभवी अलराउन्डरलाई टोलीमा समावेश गरेको हो।
बाँया हाते ब्याटर मक्सूद कर्णाली याक्समा अनुबन्ध हुने पाँचौ खेलाडी हुन्। कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ। उनी एनपिएल खेल्ने सबैभन्दा ठूलो नाम हुन्। त्यस्तै, टोलीमा वेस्ट इन्डिजबाट टेष्ट खेलिसकेका चादविक वाल्टन र हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात छन्।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ।
टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन्। अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन्। ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन्।
मक्सूदले ओमानको लागि ४८ एकदिवसीयमा १२७३ रन बनाएका छन्। त्यस्तै, ७३ टी२० खेलमा १३६९ रन बनाएका छन्। त्यस्तै, बलिङतर्फ टी२० आईमा ५१ विकेट लिएका छन्।